१ कार्तिक २०८३, आइतबार

रेल मार्गले नेपाली व्यवसायीमा उत्साह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rail-Chinaरसुवा, २ जेठ । नेपाल र चीनबीच व्यापार-व्यवसाय अभिवृद्धि गर्न रेलमार्गबाट सामान आएको खबरले यहाँका व्यवसायीमा उत्साह बढेको छ ।

 चिनियाँ भू-भागको लामो दूरीबाट रेलद्वारा सामान आउँदा आदेश गरिएबमोजिम सिगात्सेसम्म यथेष्ट सामग्री आउने र अर्कातर्फ उपभोक्ताको माग तथा चाहनानुरुप काठमाडौं लगायत नेपालका सबै व्यवसायिक केन्द्रमा सामान पुर्याउन सहजता आएबाट व्यवसायीमा उत्साह बढेको नेपाल व्यापार सङ्घका अध्यक्ष कुमार कार्कीले बताउनुभयो ।

ठूलो परिमाणमा आदेश दिइएको मालसामान रेलबाट छिटोछरितो आउँछ तर करोडौँको सम्पत्ति व्यवस्थापन गर्न आफ्ना सवारी चालक केरुङ जान नपाउँदा समस्या भएको जनाउँदै अध्यक्ष कार्कीले रसुवागढीबाट सामान झार्न र चढाउन केरुङको पाङसिङ(रसुवागढी सीमाबाट ३२किमी) सम्म जान पाउने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

गत वर्ष वैशाख १२ को भूकम्प अगाडिसम्म नेपालबाट केरुङ जाने एक दिनको अनुमति दिइन्थ्यो । गत मङ्सिर १४ गतेदेखि भने पुनः नाका सञ्चालनमा अएपछि चिनियाँ पक्षले स्थानीय अनुमतिपत्र भएका रसुवालीलाई बाहेक अन्य जिल्लाका मानिसलाई मितेरी पुलबाट रोक लगाइएपछि मालवाहक कन्टेनर केरुङमा लान र त्यहाँबाट ल्याउनसमस्या भएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

नेपाल पठाउने सामान ढुवानीमा संलग्न सबैभन्दा ठूलो चिनियाँ मुसा ट्रान्र्सपोर्टेसन कम्पनीका प्रबन्ध निर्देशक ज्याङ से पिङले भन्नुभयो, “रेलबाट तीन दिनमा सिगात्से र मोटरमा केरुङ पुग्न दुई दिन लाग्छ, ट्रकभन्दा रेलले एकसाथ ८० प्रतिशतभन्दा बढी सामान ल्याउँछ, अब नेपाली ट्रक केरुङ पुगेकै दिन सामान लोड गरी पठाउन सकिन्छ ।”

यस्तै चीनबाट नेपाल भित्रने सामान ढुवानी प्रयोजनका लागि लगभग ५०० वटा कन्टेनर तयार भई ढुवानी सेवा अगाडि पठाइसकिएको बताउँदै पासाङल्हामु कन्टेनर व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष शशि अधिकारीले आफ्नो ट्रक, कन्टेनर लिई रसुवागढी नाकाबाट केरुङ जान नपाउँदा प्रतिट्रिप रु १५ हजार स्थानीयस्तरका चालकलाई बुझाउन बाध्य भएकाले चालक आफैँले राख्न पाउने वातावरण बनाउन आग्रह गर्नुभयो ।

नेपाल ल्याइने वस्तु रेलमार्गबाट एकसाथ आउने खबरले सबै क्षेत्रमा उत्साह बढेको बताउँदै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले अन्तर्राष्ट्रिय व्यापारिक नाका अहोरात्र चालु राख्न आवश्यक उपकरण र प्राविधिकसहित सडक कार्यालय धुन्चेमा स्थापना हुनुपर्ने माग गर्नुभयो । रासस