काठमाडौं, २ जेठ । “उद्यमशीलताको विकास, गरिवी निवारणको निकास” भन्ने मुल नाराकासाथ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौंमा सुरु भएको छ । मुलुकभरबाट प्रतिनिधित्व हुनेगरी लघुवित्त कार्यक्रममा संलग्न झण्डै ६०० महिला सदस्यहरु उपस्थिति रहेको यस सम्मेलनको समुद्घाटन प्रधानमन्त्री के.पी. शर्मा ओलीले गर्नुभएको थियो । लघुवित्त क्षेत्रमा क्रियाशील लघुवित्त संस्थाहरुमध्ये अगुवा संस्थाहरुको आयोजना एवम् स्वावलम्बन विकास केन्द्रको संयोजनमा आयोजित कार्यक्रममा राष्ट्र बैंकका गर्भनर चिरिञ्जवी नेपालको समेत उपस्थितिमा सम्पन्न भएको थियो । सम्मेलन आयोजक समितिका संयोजक एवम् स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समुद्घाटन समारोहलाई संबोधन गर्दै प्रधानमन्त्री के.पीं शर्मा ओलीले नेपालको गरिबी निवारण गर्ने सन्दर्भमा लघुवित्त संस्था र यसमा आवद्ध महिलाहरुको विशेष भूमिका रहेको कुरा उल्लेख गर्नुभयो । गरिब हुनै नहुने मुलुकमा गरिबी छ । यति सुन्दर र अवसर नै अवसरले भरिएको मुलुकमा गरिब हुनु दुर्भाग्य भएको उल्लेख गर्दै यसका लागि सरकारले विशेष कार्यक्रम ल्याईसकेको कुरा उल्लेख गर्नुभयो । समुद्घाटन समारोहमा पूर्व राज्यमन्त्री एवम् आयोजक समितिकि सदस्य भगवती चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यसैगरी प्रधानमन्त्रीको उपस्थितिमा नेपालमा लघुवित्त सेवा वारे उद्यमशीलताको विकास गरिबी निवारणको निकास नामक वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।
नेपालका ७५ वटै जिल्लाबाट प्रतिनिधित्व हुनेगरी दुई दर्जनभन्दा बढी लघुवित्त बैंकहरुमध्येबाट २५८ जना, लघुवित्त कार्यक्रम सञ्चालन गर्ने झण्डै डेढ दर्जन गैर सरकारी संस्थाहरुबाट २२० जना र लघुवित्त कार्यक्रम सञ्चालन गर्ने झण्डै एक दर्जन सहकारी संस्थाबाट १५० जना महिला प्रतिनिधिहरु एवम् सम्बन्धित संस्थाका कर्मचारी प्रतिनिधि गरी झण्डै ७०० जना प्रतिनिधि सम्मेलनमा भाग लिइरहेकाछन् ।
राष्ट्रिय स्तरको सदस्य सम्मेलन आयोजन गर्न लघुवित्त कार्यक्रम संचालनमा अग्रणी भूमिका खेलेका संस्थाहरुमध्ये नेपालको पूर्व, पश्चिम तथा मध्य क्षेत्रको प्रतिनिधित्व हुने गरी निम्नानुसार एक पन्ध्र सदस्यीय राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजक समिति गठन भएको छ । सोही समितिको आयोजना तथा स्वावलम्बन विकास केन्द्रको संयोजकत्वमा दुई भेलाको आयोजना गरिएको थियो । आयोजकको दावी अनुसार यस किसिमको महिला सदस्यमा मात्र केन्द्रित रहेर गरिएको सम्मेलन अहिलेसम्मकै पहिलो भन्ने रहेको छ । सम्मेलनमा विभिन्न जिल्लाबाट आएको बालबालिका लगायत अन्य कलाकारहरुले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम समेत प्रर्दशन गरिएको थियो ।















प्रतिक्रिया