काठमाडौं, २ जेठ । मधेसी मोर्चासहितका राजनीतिक दल आवद्ध संघीय गठबन्धनले सिंहदरबार घेराउ गर्दैछ ।
सिंहदरबारलाई केन्द्र बनाइ माइतीघर मण्डला र हनुमानस्थानमा जम्मा हुन थालेका संघीय गठबन्धनका नेता तथा कार्यकर्ताले दिनभरि नारावाजी र घेराउ गर्ने जनाएका छन् । बिहान ९ बजेदेखि धर्ना र घेराउ गर्ने भनिए पनि फितलो व्यवस्थापनका कारण ढिलो मात्रै कार्यकर्ता धर्नास्थल पुग्न थालेका हुन् ।
माइतीघर मण्डलामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् संघीय गबठन्धनका संयोजक उपेन्द्र यादव तथा हनुमानस्थानमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितका नेताले धर्नाको नेतृत्व गर्नेछन् । धर्ना पाँच बजेसम्म चल्नेछ ।
दुई स्थानको धर्नालाई भद्रकाली र पद्मोदय मोडमा पनि केन्द्रित गर्ने तयारी भएको आन्दोलन परिचालन उपसमितिका संयोजक आङ्काजी शेर्पाले जानकारी दिनुभयो । ‘कार्यकर्ता बढी आए भने पद्मोयमोड पुतलीसडक र भद्रकालीमा पनि धर्ना बस्नेछौँ’, संयोजक शेर्पाले भन्नुभयो ।
संघीय गठबन्धनको धर्नालाई ध्यानमा राखेर सरकारले पनि सिंहदरबारसहित राजधानीभित्र उच्च सुरक्षा सतर्कता अपनाएको छ । राजधानी उपत्यकाभित्र बाक्लै सुरक्षाकर्मी परिचालन गर्नुका साथै चेकजाँचलाई कडा बनाइएको गृह मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया