काठमाडौं, २ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले माओवादी पार्टीहरूको एकता र त्यसबारे गरिएका प्रचारवाजीसंग आफ्नो पार्टीलाई जोडेर गरिएको विषयलाई षड्यान्त्रको संज्ञा दिएको छ ।
सो पार्टीका प्रवक्ता खड्क विश्वकर्माले विज्ञप्ति जारी गरेर कुनै पनि माओवादी पार्टीहरूसँग आफ्नो पार्टीले तत्काल पार्टी एकता गर्न नलागेको बताउनुभएको छ । ‘तथाकथित माओवादीहरूको एकताको प्रचारवाजी र त्यससंग हाम्रो पार्टीको नाम जोड्ने षड्यन्त्र, दुस्साहास र वदनियतप्रति पार्टी घोर आपत्ति व्यक्त गर्दछ’, उहाँले भन्नुभएको छ, ‘यसलाई पुराकापूरा खारेजी गर्दछ ।’
पार्टीसंग नाम जोडेर प्रचार गरिएका मान्छेहरूले पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशा र त्यसको स्प्रीडमा जिम्मेवारी बहन गर्न नसकी घरमा बसेपछि पार्टी केन्द्रीय समितिले सम्पूर्ण जिम्मेवारीबाट उहिले नै हटाई सकेको प्रवक्ता विश्वकर्माले उल्लेख गर्नुभएको छ ।
‘यिनी मान्छेहरूलाई जोडेर एकताको राग अलाप्ने तत्वहरू र हाम्रो पार्टीको प्रभाव एवम् लोकप्रियताको वैशाखी टेकी आफ्नो पद प्राप्तिको सौदावाजी गर्न दुस्साहास गर्ने व्यक्तिहरूलाई पार्टी खबरदारी गर्दछ । पार्टीको दुरुपयोग तथा बदनाम गर्ने मुर्खता गरियो भने पार्टीले जो कसैलाई पनि छुट दिन नसक्ने कुरा समेत स्पष्ट गर्दछ ।’
विप्लव माओवादीले राष्ट्रियता माथिको हस्तक्षेप, राष्ट्रिय दलाली र आत्मसमर्पण, दलाल संसदीय व्यवस्था र त्यसले मौलाएको भ्रष्टाचार कमिशन र कालोबजारको डरलाग्दो खेल, राजश्व छली, सामाजिक असुरक्षा, अनियमितता र ढिलासुस्ती, राष्ट्रिय उद्योग धन्दा एवं व्यवसायीहरुको टाट पल्टाई र कहाली लाग्दो जनजीविका लगायत यावत समस्याका विरुद्ध हाम्रो पार्टीले जेष्ठ ७ गते वेपत्ता योद्धाहरूको स्मृति दिनलाई पारेर विशाल विरोध प्रदर्शन र जन सभा कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
जेठ ७ गते नेकपा माओवादीले खुलामञ्चलाई केन्द्रित बनाइ राजधानीका विभिन्न चार स्थानबाट -याली निकाल्ने तयारी गरेको छ । स्रोतका अनुसार कालीमाटी, कुपण्डोल, लैनचौर र बबरमहलबाट -याली निकाल्ने तयारी भएको छ ।
खुलामञ्चमा हुने सभालाई महासचिव विप्लवले मात्रै सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।













प्रतिक्रिया