– दशरथ घिमिरे
देउखुरी, २ जेठ । बर्दिया बदलापुर घर भएका ३३ वर्षीय गुलगुल थारुको हातमा वेग्लै सिप छ । हातै हातको मद्दतले बेतबाँसलाई आकार दिएर सामान बनाउने कुशलता उहाँमा छ ।
उहाँले लमहीमा बेतबाँसको सामान बनाएर बेच्न थालेको एक वर्ष भयो । हातमा सिप र जाँगर भए पैसा कमाउन विदेशै जानुपर्छ भन्ने छैन् । यस्तै गतीलो उदाहरणको पात्र गुलगुल बन्नु भएको छ । ‘बेतबाँसबाट चुरा राख्ने चुरी केससहित शोफासम्म बनाउछु, देउखुरीमा अहिले म मात्रै एक्लै हुँ बेतबाँसबाट सामान बनाउन सक्ने ब्यक्ति’, थारुले दाबी गर्दै भन्नुभयो, ‘बेतबाँसको सामान बेचेर महिनामा २० हजार रुपैयाँसम्म कारोवार हुन्छ ।’
सानै उमेरमा गुलगुल जमिन्दारको घरमा कमैयाँ बस्नु प¥यो । त्यो समयमा जमिनदारको घरमा काम गरेवाफत एक रुपैयाँ पनि नपाएको अनुभव छ । कमैयाँ छुटेपछि कपाल काट्ने तालिम लिनु भयो तर, पसल खोल्न सक्नु भएन । साईकल बनाउने तालिम पनि सिक्नु भयो तर, त्यो पनि पसल खोल्न नसकी त्यसै भयो । बेतबाँसको सामान बनाउने तीनमहिने तालिम लिएपछि भने गुलगुलको जीवन फेरियो । बर्दियाको राजापुर, दाङको घोराही र अहिले तुलसीपुरसम्म बेतबाँसबाट सामान बनाउने तथा बिक्री वितरण थाल्नु भएको छ ।
‘बेतबाँसबाट सामान बनाउछु, देउखुरीको घुम्नामा बेतबाँसको बन छ, त्यहीबाट बाँस ल्याएर ब्यवसाय गरिरहेको छु’, गुलगुलले भन्नुभयो–‘यही पेशाबाट आम्दानी बढ्यो ।’
थारुले ५ जनाको परिवारको खर्च यही पेशाबाट पूरा गर्दै आउनु भएको छ । ब्यवसायबाट आएको आम्दानीले दुई कट्ठा जग्गा समेत जोड्न सफल हुनुभयो ।
‘बर्दियामा जग्गा किनेको छु, दुई कट्ठा छ, एक कट्ठाको ९० हजार रुपैयाँ परेको हो’, उहाँले भन्नुभयो– ‘बेतबाँसको सामान बनाउन थालेपछि अहिले तालिम सिकाउन बोलाउनेहरु पनि हुनुहुन्छ ।’
थारुका जेठा दाईले घोराहीमा फर्निचरको काम गर्नुहुन्छ । दाईको सल्लाहको आधारमा गुलगुलले बेतबाँसको सामान बनाउने काम थाल्नु भएको हो । जमिनदारको घरमा काम गर्दा उहाँले पढ्न पाउनु भएन् । ‘पढ्न नपाएकोमा पछुतो छ’, उहाँले भन्नुभयो–‘बेतबाँसबाट बनेको सामानको महत्व कमै मान्छेले बुझेका छन्, अझै यसबारेमा बुझाउन बाँकी छ ।’















प्रतिक्रिया