१ कार्तिक २०८३, आइतबार

चीनबाट आयात बढ्यो, केरुङतर्फ कन्टेनरको भीड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China-kerung-naka-1रसुवा, ३१ वैशाख । नेपाल–चीनबीच कारोबार भइरहेको एक मात्र उत्तरी नाका रसुवागढी नाकामा सामान बोक्ने मालवाहक कन्टेनरको आवागमन क्रमिक रुपमा वृद्धि हुँदै गएको छ ।

ट्राफिक प्रहरीका अनुसार दैनिक रुपमा मालवाहक कन्टेनर ५० भन्दा बढी काठमाडौं र त्यतिकै सङ्ख्यामा केरुङतर्फ जाने गरेको छ । अहिले स्याउ बढी मात्रामा भित्रिएको छ भने तयारी र रोल कपडा, जुत्ता चप्पल, विद्युतीय समेतका सामग्री आयात हुने गरेको बताइएको छ ।

सडक साँघुरो भएका कारण ट्राफिक व्यवस्थापन गर्न नेपाल प्रहरी अहोरात्र खटाइएको बताउँदै जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले वर्षाका कारण केही दिनअगाडि अवरुद्ध नुवाकोट–गेर्खु गाविस इलाकाको सडक एकतर्फी रुपमा खुलेको जानकारी दिए ।

प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार गत मङ्सिर १४ गतेदेखि हालसम्म एक अर्ब ३१ करोड राजस्व सङ्कलन भइसकेको र केरुङबाट सामान बोकी आउने कन्टेनरलाई ओहरदोहरमा सहजता ल्याउन मूलखर्क र सानुभार्खु क्षेत्रमा सडक विभागमार्फत सडक मर्मत कार्य अगाडि बढिरहेको बताए ।

रसुवागढी क्षेत्र व्यवस्थित पार्न एकीकृत भवन निर्माणका लागि भवन तथा सहरी विकास विभाग एवम् गल्छी–मैलुङ सडक स्तरोन्नति गर्न सडक विभागमार्फत ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगिसकेको बताउँदै प्रमुख भन्सार अधिकृत पनेरुले स्याफ्रुबेसी –मैलुङखण्डको नयाँ सडक निर्माण गर्न नेपाली सेनाबाट छिटोछरितो काम भइरहेको जानकारी दिए। रासस