काठमाडौं, ३१ वैशाख । सिंहदरबार घेराउको कार्यक्रम राखेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका २९ दल सहभागी संघीय गठबन्धनले आज आफ्नो आन्दोलनको तयारीका विषयमा जानकारी गराउँदैछ ।
काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा हुने पत्रकार सम्मेलनमा सिंहदरबार घेराउतका लागि भएका तयारीका विषयमा जानकारी गराइने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
संघीय गठबन्धनका अर्का नेता प्रेमबहादुर खातीका अनुसार आन्दोलनलाई कसरी व्यवस्थित गर्ने भन्न विषयमा पत्रकार सम्मेनमार्फत जानकारी गराउने बताउनुभयो ।
आन्दोलन परिचालन उपसमितिका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका नेता पाशाङ शेर्पाले सिंहदरबार घेराउको कार्यक्रमलाई जीवन मरणका रुपमा लिएको बताउनुभयो । ‘सिंहदरबार घेराउको कार्यक्रमलाई सफल बनाउन विभिन्न रणनीति बनाएका छौँ । पत्रकार सम्मेलनमार्फत जारी गर्ने छौँ ।’
राजधानीमा उल्लेख्य नेता तथा कार्यकर्ता जम्मा गरेको संघीय गठबन्धनले सिंहदरबार घेराउका क्रममा एक लाख जनता उतार्ने दाबी गरेको छ । ‘सिंहदरबार घेराउलाई व्यवस्थित गरेर लैजान्छौँ’, सद्भावना पार्टीका महासचिव सुमनले भन्नुभयो, ‘घेराउ कार्यक्रममा कम्तिमा एक लाख त उतार्नै पर्छ ।’
उता, संघीय गठबन्धनले सिंहदरबार घेराउको कार्यक्रम राखेपछि सरकारले पनि राजधानीमा उच्च सुरक्षा सर्तकता अपनाएको छ । सिंहदरबार घेराउको कार्यक्रममा घुसपैठ हुन सक्ने भन्दै सरकारले राजधानीमा उल्लेख्य सुरक्षाकर्मी परिचालन गरेको स्रोतको भनाइ छ ।












प्रतिक्रिया