३० आश्विन २०८३, शुक्रबार

विद्यालय पुनः निर्माणमा जुट्दै पूर्व शिक्षक-विद्यार्थी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कालिका खड्का
दोलखा (सुस्पा क्षमावती) ३० वैशाख । प्रजातन्त्र आउनुअघि स्थापना भएको सुस्पा क्षमावती उच्च माध्यामिक विद्यालय भूकम्पले पूर्ण क्षति भयो । पुनः निर्माणमा ढिलाई भएपछि पूर्व शिक्षक विद्यार्थी आफै विद्यालय निर्माणमा जुटेका छन् ।

भूकम्प गएको एकवर्ष बितिसक्दा पनि सरकारले विद्यालय पुनः निर्माणमा ढिलाई गरेपछि सो विद्यालयका पूर्व शिक्षक विद्यार्थी र स्थानिय जनता नै विद्यालय निर्माणमा जुटेका हुन ।

गत वैशाख १२, १३ र खासगरी २९ गतेको भूकम्पको केन्द्रविन्दु नै दोलखाको सुनखानीमा पर्दा विद्यालयको छ वटा भवन पूर्ण रुपमा क्षति भएको थियो । भौतिक रुपमा निकै सम्पन्न र सुन्दर विद्यालय भूकम्पपश्चात शुन्यको अवस्थामा पुगेको छ ।

विद्यालयको पुनः निर्माण गर्न विद्यालय परिवालाई पूर्व शिक्षक विद्यार्थी समाजको बिशेष सहयोग प्राप्त भई रहेकोछ । सरकारको उदासिनतामा पनि भूकम्पले त्रसित स्थानीयको उत्साहपूर्ण सहभागिता रहेको छ । सुरुमा पनि सो विद्यालय स्थानीय जनताको श्रमदानबाटै बनेको थियो । अहिले पनि स्थानीयको जनश्रमदान नै उल्लेखनीय छ ।

पूर्व शिक्षक विद्यार्थी समाजले पनि विद्यालयको ६८ औँ वार्षिकोत्सवका अवसरमा २० जना पूर्व शिक्षक विद्यार्थीले श्रमदान गर्नुभयो ।

सो विद्यालयका पूर्व शिक्षक–विद्यार्थीले आ–आफ्नै पहलबाट आर्थिक सहयोग सङ्कलन गरिहेका छन । विद्यालयको मूल भवन निर्माणका लागि रु ६० लाख र छात्रावास निर्माणका लागि रु ४० लाख गरी रु एक करोड रकम सङ्कलन भइ सोही रकम र जनसहयोगले काम भई रहेको छ ।

सुस्पा क्षमावती उच्च माध्यामिक विद्यालय पूर्व शिक्षक–विद्यार्थी समाजका अध्यक्ष मिलन तुलाधरले भन्नुभयो,–“भूकम्प गएर विद्यालय पूर्ण रुपमा क्षति भएको एकवर्ष पुगिसक्दा पनि केन्द्र र जिल्लाको ध्यान पुग्न सकेन, पठनपाठनमा निकै कठिनाई हुदै गएपछि पुनः निर्माणको विद्यालय आफैले समाजको सहयोगमा सुरु ग¥यो ।”

सो विद्यालय पाँचौ प्रधानाध्यापक समेत रहनुभएका तुलाधरको भूकम्पपछि राहत र पुनः निर्माणमा विशेष योगदान पु¥याउनुभएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालका परराष्ट्र मामिला सल्लाहकार समेत रहनु भएका उहाँ स्थानिय जनताको उल्लेखनीय र उत्साहपूर्ण सहभागिताले हामीलाई थप प्रोत्साहन मिलेको बताउनुहुन्छ ।

उक्त विद्यालय पुनः निर्माणमा खासगरी पूर्व शिक्षक विद्यार्थीहरु मध्य केही ख्यातिप्राप्त व्यक्तिहरु समेत निरन्तर लाग्नु भएको छ । यसमध्य ख्यातीप्राप्त जलविद्युत इन्जिनियर माधव खकुरेल, द्वन्द्वविद् डा विष्णु उप्रेती र आर्किटेक्ट रमेश मानन्धरले क्रमश आर्थिक श्रोत परिचालन र भवन डिजाइन तथा प्राविधिक सुपरिवक्षेण समेत स्वयमसेवाको रुपमा गरी राष्ट्र सेवाको अनुपम उदाहरण दिनु भएको छ ।

अहिले निर्माण गर्न लागेको भवनहरु भूकम्प प्रतिरोधात्मक छन । तर पुरानो मूल भवन पहिलेको जस्तै तर आधुनिक तरिकाले बलियो निर्माण गर्न लागिएको छ । मूल भवन बहुउद्देश्यी तरिकाले निर्माण गर्न लागिएको छ । कार्यालयका साथै पुस्तकालय, विज्ञान र कम्पुटर प्रयोगशाला पनि त्यही राखिनेछ ।

पुनः निर्माण गर्न चाहनेलाई पनि त्यति सजिलो छैन । सरकारी प्रक्रियाहरु निकै जटिल छन् । सो समाजका अध्यक्ष तुलाधरले जोड्नुभयो, “मूल भवन निर्माणका लागि नक्सा पास गर्न मात्र छ महिना समय लाग्यो, नक्सा स्र्कीकृत प्रक्रिया ढिला हुँदा काममा बाधा परेको थियो ।”

पुनः निर्माणको पिडीएनएन प्रतिवेदनमा प्रत्येक गाविसका एक इन्जिनियर खटाउने भन्ने व्यवस्था भए पनि गाउँमा सरकारी इन्जिनियर देखिदैनन ।

जति बेला समाजमा पढ्नुपर्छ भन्ने सोच थिएन । विद्यालय खोल्न आर्थिक श्रोत हुँदैनथ्यो । गाउँलेकोे श्रमबाट कठिनाइका साथ मुलुकमा प्रजातन्त्र आउनुअघि विसं २००५ मा विद्यालय बनाए । सो विद्यालय दोलखाको मात्र नभई जनकपुर अञ्चलकै पहिलो माध्यमिक विद्यालय हो । अधिकाश त्यही विद्यालयमा पढेर उच्च ओहदामा पुगेका छन तर त्यो इतिहास बोकेको विद्यालय अहिले माटोमा मिसिएको छ । पुनः निर्माणको पर्खाइमा छ ।

विद्यालयका प्रधानध्यापक मुकुन्दराज शिवाकोटीले भन्नुभयो, “जनकपुर अञ्चलकै पहिलो तथा ऐतिहासिक विद्यालयले पूर्ण रुपमा क्षति भयो, धन्न जीवनको रक्षा भयो, पूर्व शिक्षक विद्यार्थीको सहयोगले पुनः निर्माण भइरहेको छ ।”

यही वैशाख २५ गते विद्यालयले ६८ औँ वाषिकोत्सव मनायो । विद्यालयको पुनःनिर्माण र शैक्षिक गुणस्तरमा शिक्षक, अभिभावक र विद्यार्थीमा एकता देखिन्थ्यो । सो अवसरमा स्थानीय जनताको उल्लेखनीय सहभागिता रहेको थियो ।

शिक्षा विभागको तथ्याङ्कअनुसार जिल्लामा कुल ३९६ विद्यालय छन् भने ८६५ विद्यालय भवन छन् । त्यसमा ३६३ विद्यालय भवन प्रभावित छन् । भूकम्पमा परी पाँचजना विद्यार्थीको मृत्यु भएको छ । यसमा पूर्ण क्षतिग्रस्त कक्षाकोठा एक हजार ६३२ छन् । जिल्ला शिक्षा कार्यालयको भवनसमेत क्षतिग्रस्त भएको थियो ।

विद्यार्थी ९० प्रतिशत सिमान्तकृत थामी

सुस्पा क्षमावती माध्यामिक विद्यालयमा अध्ययनरक्त ९० प्रतिशत विद्यार्थी सिमान्तकृत थामी जातिका रहेका छन् । सो विद्यालय आवाज विहिनहरुको आवाजको रुपमा रहेको छ । सरकारले सिमान्तकृत थामी जातिलाई प्राथमिकतामा राखेको देखिदैन । थामी जातिहरु आर्थिक र शैक्षिक रुपमा राज्यले उपेक्षा गरेको देखिन्छ । अन्य लोपोन्मुख जातिलाई जस्तो सरकारले प्राथमिकता दिएको देखिदैन ।

बहुसङख्यक विद्यार्थी थामी जाति भएकाले विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष पहिलो पटक थामी नै हुनुहुन्छ । अहिले व्यवस्थापन समितिको अध्यक्ष भक्तसिंह थामी हुनुहुन्छ । सो उच्च माविमा दशजोड दुई समेत गरी ४०० भन्दा बढी विद्यार्थीे विद्यालयमा अध्ययनरत छन् ।

जिल्लाकै नमूना खाजा कार्यक्रम

सुस्पा क्षमावती माध्यामिक विद्यालयले जिल्लाकै नमुना खाजा कार्यक्रम दुई वर्षदेखि सञ्चालन गरिरहेको छ ।

सुरुमा रु दुईको खाजा कार्यक्रम सुरु गरेको थियो । शिक्षक विद्यार्थी सबैलाई कोदाको सुप खाजा खान सुरु गरिएको थियो । पूर्व शिक्षक–विद्यार्थीको पहलमा स्थानीय जनतासँग मिलेर सो कार्यक्रम सुरु गरेको थियो ।

विद्यालयका प्रधानन्यायापक शिवाकोटीका अुनसार अहिले स्थानीयको सक्रियतामा खाजालाई परिस्कृत बनाउदै लगिएको छ । कहिले खीर, कहिले अण्डा, कहिले चिउरा तरकारी खुवाउन गरिएको छ । यो खाजा कार्यक्रमलाई निरन्तरता दिनका लागि पूर्व शिक्षक विद्यार्थीको पनि सहयोग छ । रासस