काठमाडौं, ३० वैशाख । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले पार्टीभित्र आफ्नो हैकम चलाउन थालेका छन् ।
स्वच्छ र शालिन छवि देखाउने नारायणकाजीले अध्यक्ष प्रचण्ड निकट रहेका नेता र सचिवालयका सदस्यहरुमाथि नियोजित प्रहार गर्न थालेका छन् । चीनको कम्युनिष्ट पार्टीले एमाओवादीका नेताहरुलाई चीन भ्रमणमा पठाएको निम्तोमा आफुखुसी टोली बनाएर नारायणकाजीले एमाओवादीमा आफ्नो फुुर्ती देखाउन थालेका हुन् ।
नेपालस्थित चीनको दूतावासले एमाओवादीका नेताहरुलाई चीन भ्रमणका लागि नामै तोकेर पत्र पठाएको थियो । दूतावासका राजनीतिक तथा प्रेस मामिला हेर्ने प्रमूख जियाङ वीले नारायणकाजीलाई पत्र लेखी चीन भ्रमणका लागि महासचिव कृष्णबहादुर महराको नेतृत्वमा प्रचण्डको सचिवालयमा रहेका प्रकाश दाहाललाई पनि अनिवार्य टोलीमा समावेश गराउनका लागि आग्रह गरेका थिए । तर, नारायणकाजीले चन्द्रप्रकाश खनालको नेतृत्वमा चीन भ्रमणको टोली गठन गरी प्रचण्डको सचिवालयका सदस्यहरुको पनि नाम काटेका छन् ।
दूतावासको पत्रमा भनिएको छ,‘चीनीयाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय केन्द्रिय विभाग एमाओवादीका महासचिव कृष्णबहादुर महराको नेतृत्वमा १५ सदस्यीय चिनियाँ भ्रमण टोलीलाई स्वागत गर्न चाहन्छ । जहाँ एमाओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाललाई अनिवार्य राखियोस् ।’
१९ अप्रिलमा दूतावासले पठाएको पत्रमा १० मेदेखि हुने ९ दिने भ्रमणमा महराको संयोजकत्व, प्रकाश दाहालको अनिवार्य सहभागीता र एकजना ठूलो मिडियाका पत्रकारलाई पनि सहभागी गराउनका लागि भनिएको छ । तर, नारायणकाजीले दूतावासको उक्त प्रष्ट अनुरोधसहितको पत्रविपरित चन्द्रप्रकाश खनालको नेतृत्वमा टोली गठन गरी प्रकाश दाहालको नाम हटाएका छन् ।
पछिल्लो समय लाजिम्पाटसँग सम्बन्धलाई चिसो बनाउँदै गएका नारायणकाजीले प्रचण्डलाई कमजोर बनाउने भारतीय चासोअनुसार आफुखुसी निर्णय गर्न थालेको बताइन्छ ।
नारायणकाजीले पछिल्लो समय एमाओवादीको नीतिविपरित आफुखुसी पत्रकार सम्मेलन गर्ने र पार्टीनीति विपरित विभिन्न क्रियाकलाप पनि गरिरहेको स्रोतले जनाएको छ ।
प्रचण्डले महासचिव भएका हिसावले महरालाई बढि चासो दिने र सचिवालयले पार्टी हितका लागि मात्र काम गरेपछि नारायणकाजी लाजिम्पाटलाई आफ्नो ध्वाँस देखाउनका लागि यस्तो निर्णयमा पुगिरहेको बताइएको छ । एमाओवादी एकीकरणको संघारमा पुुगेको बेला आफ्नो स्थान र बरियता पनि कमजोर हुुने देखेपछि नारायणकाजी अत्तालिएर भारतीय सहयोग माग गर्न पनि थालेको बताइन्छ । प्रचण्डले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग गरेको ९ बुँदे सहमतिको विरोधमा पनि नारायणकाजी लागेको स्रोतहरुले बताएका छन् ।













प्रतिक्रिया