काठमाडौं, २९ वैशाख । काठमाडौं–तराई द्रुतमार्ग आफै बनाउने सरकारको निर्णयमा आपत्ति जनाउँदा चर्काे आलोचना भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी कडा जवाफ दिएका छन् ।
आफूले संसदमा बोलेको विषयलाई लिएर सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति उनले विज्ञप्तिबाटै ध्यानाकर्षण समेत जनाएका छन् ।
बुधबार अपराह्न जारी विज्ञप्तिमा देउवाले फास्ट ट्रयाक निर्माण सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको कुरालाई ध्यानमा राख्न र लगानीकर्तामा नकारात्मक सन्देश जानु हुँदैन भन्ने हिसाबले आफू बोलेको स्पष्ट पारेका छन् ।
सभापति देउवाले अघिल्लो सरकारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट टेण्डर दिएर जानुपर्ने निर्णय गरेको भन्दै सो विषयमा अदालतमा मुद्दा परेकाले त्यसमा विचार गर्न मात्रै आफूले कुरा राखेको दाबी गरेका छन् ।
उनले स्वदेशी लगानीमा ठूला आयोजना पूरा गराउँदा त्यसले अन्तर्राष्ट्रिय लगानीलाई असर पर्ने मात्रै भनेको बताए ।
फाष्ट ट्रयाक स्वदेशीले नबनाई अन्तर्राष्ट्रिय समुदायलाई दिनुपर्ने सभापति देउवाले मंगलबारको संसद बैठकमा अभिव्यक्ति दिएपछि चौतर्फी रुपमा बिरोध भएको थियो ।
सभापति देउवाले विशेष गरेर भारतीय कम्पनीलाई नै फाष्ट ट्रयाक बनाउन दिनुपर्ने तर्फ अभिव्यक्ति दिएको आरोप छ ।
यस्तो देउवाको सचिवालयद्धारा विज्ञप्ति (जस्ताको तस्तै):
प्रेस विज्ञप्ति
काठमाडौं–निजगढ फास्ट ट्रयाक बारे हिजो मैले संसदमा बोलेको विषयलाई लिएर केही संचार माध्यमहरूमा प्रकाशित समाचारप्रति मेरो ध्यान आकर्षित भएको छ ।
पूर्ववर्ती सरकारले बुट ऐन अन्तर्गत अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनौट गरी परियोजनाको सम्झौता प्रक्रिया अगाडि बढाई सम्बन्धित पक्षलाई दिने नदिने कुराको टुङ्गो लगाउन बाकी रहेको र यसै सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परि विचाराधिन रहेको कुरालाई ध्यानमा राखौँ भन्ने मेरो भनाई रहेको प्रष्ट पार्न चाहन्छु । साथै, लगानीकर्तामा पनि नकारात्मक सन्देश जानु हुँदैन भन्ने मेरो चिन्ता हो ।
शेरबहादुर देउवा
सभापति













प्रतिक्रिया