१ कार्तिक २०८३, आइतबार

लाजिम्पाटमा खुल्यो यूएईको दूतावास, उद्घाटन गर्न विदेशमन्त्री नाह्यान आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UAE-Flag

काठमाडौं, २८ वैशाख । संयुक्त अरब इमिरेट्स (युएई)ले आजदेखि राजदूतस्तरमा दूतावास स्थापना गरेर प्रवेशाज्ञा लगायत सेवा प्रवाह गर्ने भएको छ ।

दूतावास उदघाटन एवम् सेवा आरम्भ गर्न युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान आजै अपराह्न यहाँ आउँदै छन् । स्थानीय लाजिम्पाटमा स्थापना भएको दूतावास उदघाटनअघि नेपाल र युएईबीच द्विपक्षीय वार्ता हुने छ ।

वार्तामा नेपाली पक्षको नेतृत्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा तथा युएईको नेतृत्व त्यहाँका विदेशमन्त्रीले गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग युएईका विदेशमन्त्रीले आजै बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । विदेशमन्त्री नाह्यान युएईका प्रथम संस्थापक राष्ट्राध्यक्ष एवम् अमिरका सुपुत्र हुन् ।

नेपाल–युएई वार्तामा द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउने तथा पारस्परिक सहयोग र लाभका क्षेत्र अभिवृद्धिबारे विचारविमर्श हुने मन्त्रालयका एक उच्च अधिकारीले राससलाई बताए ।

वार्तामा परराष्ट्र मन्त्रालयका अतिरिक्त श्रम तथा रोजगार, उद्योग, अर्थ, गृह र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी हुने उनले जानकारी दिए ।

दूतावास स्थापनासँगै युएईले सइद हमदान अल नाक्वीलाई नेपालका लागि राजदूतमा नियुक्त गरेको छ । नवनियुक्त राजदूत नाक्वीले राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरिसकेका छैनन् ।

नेपाल र युएईबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । केही वर्षयता नेपाली श्रमिकका निम्ति युएई आकर्षक गन्तव्य बन्दै गएको छ । हाल उक्त मुलुकमा दुई लाखको हाराहारीमा नेपाली कार्यरत छन् ।

उपप्रधानमन्त्री थापाको निमन्त्रणामा विदेशमन्त्री नाह्यान विशेष विमानबाट नेपालको भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले सोमबार राति जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस