काठमाडौं, २८ वैशाख । संविधानको विरोध गर्दै आएका मधेसी र थारु सांसदहरूले सरकारका तर्फबाट संसदमा पेश भएको आर्थिक वर्ष २०७३/७४ को नीति तथा कार्यक्रमले थारु, मुस्लिम, आदिवासी जनजातिहरूलाई नचिनेको आरोप लगाउँदै संसदको बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।
संसदको आजको बैठकमा एमालेका मुख्य सचेतक भानुभक्त ढकालले सरकारको नीति तथा कार्यक्रम छलफलका लागि पेश गर्नेवित्तिकै थारु र मधेसी दलका सांसदहरूले उठेर विरोध गरेका थिए । सांसदहरू उठ्नेवित्तिकै सभामुखले थरुहट तराई पार्टीका सांसद गोपाल दहितलाई बोल्न समय दिनुभएको थियो ।
सांसद दहितले सरकारको नीति तथा कार्यक्रमले थारु, मधेसी, मुस्लिम, आदिवासी, जनजातिलाई नचिनेको आरोप लगाउनुभयो । ‘यो नीति तथा कार्यक्रमले दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र तराई मधेसका बाढीपीडितलाई चिनेको छैन’, सांसद दहितले भन्नुभयो, ‘भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण गर्ने बाढी पहिरो पीडितको पक्षमा कुनै कार्यक्रम नल्याउने ?’
उहाँले अगाडि भन्नुभयो, ‘भूकम्पले जत्तिकै नोक्सानी बाढी प्रभावित जिल्लामा पनि भएको छ । खोइ नीति तथा कार्यक्रमले त्यसलाई समेटेको ?’
लागू हुनै नसक्ने विषय राखेर नीति तथा कार्यक्रम ल्याएको भन्दै उहाँले भन्नुभयो, ‘सरकारले वार्ता गरेर असन्तुष्ट पक्षलाई मुलधारमा ल्याउनुका साटो चिढाउने कार्य गरेको छ ।’
दहिले बोलेर सक्नेवित्तिकै थारु र मधेसी दल आवद्ध सांसदहरू सदनबाट बाहिरिएका थिए ।













प्रतिक्रिया