काठमाडौं, २७ वैशाख । संसदमा पेश गरिएको ओली सरकारको नीति कार्यक्रमलाई सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ‘मुंगेरी लालको हसीन सपना’ जस्तै बताएका छन् ।
महतोले सरकारद्वारा पेश गरिएको नीति कार्यक्रम र ओलीको बोली दुबै उस्तै रहेको र सुन्नमा रमाईलो लाग्ने तर कहिले पुरा नहुने बताए ।
नीति कार्यक्रममा पुरानै संक्रमणकालीन व्यवस्था अनुसार स्थानीय चुनाव गराउने सरकारको घोषणाप्रति सदभावना पार्टी अध्यक्षले आफ्नो आपत्ति जनाउनु भएको छ । महतोले संघीयताको कार्यान्वयन गर्नुको सट्टा पुरानै व्यवस्था अनुसार स्थानीय चुनावको घोषणा गर्नुले ओली सरकार शंकाको घेरामा आएको बताए । उनले भने ‘नयाँ संविधान कार्यान्वयनप्रति वर्तमान सरकार इमानदार छैन ।’
नयां संविधान जारी भएपनि पुरानै व्यवस्था लाद्ने सरकारको नियतले संघीयतानै खतरामा पर्ने महतोले बताए । उनले भने- ओली सरकारको यस घोषणाले सरकार संघीयता बारे अझै अन्यौलमा रहेको बताउँदै यसबारे देशका जनतालाई प्रष्ट पार्न माँग गरेका छन् ।
ख्याल ठठ्टामा चलेको सरकारले नीति कार्यक्रम बनाउँदा पनि जनताको भावनासँग ख्याल ठठ्टानै गरेको महतोको भनाई छ । ओली सरकारको ‘एक घर एक रोजगार’ योजनाबारे प्रतिक्रिया दिंदै महतोले भने- खयाली पुलाव पकाए जस्तै सरकारले देशको जनतालाई खयाली पुलाव बाँडेको छ । महतोले यो रोजगार कसरी दिने र रोजगारीको सृजना कसरी गर्नेबारे सरकारले केही स्पष्ट नपारेकोले सो योजना ओलीको खयाली पुलाव नै रहेको बताए । ‘रोजगार नेपालमा दिने हो कि मलेसिया-कतारमा’ भनेर महतोले सरकारमाथि कटाक्ष पनि गरे ।
हुलाकी राजमार्ग, निजगढमा प्रस्तावित अन्तर्राष्ट्रीय विमानस्थल र काठमाडौं तराई–मधेश फास्ट ट्रयाक योजनालाई आफ्नै खर्चले बनाउने घोषणा गरेको सरकारले यसको साधन स्रोत कहाँबाट जुटाउने र यसमा निवेशको लागि अरबौं रूपैयाँ कहाँबाट ल्याउने त्यो स्पष्ट नरहेकोले सरकारको यो घोषणा पनि कागजमा मात्र सीमित रहने महतोले बताए ।
हालै सरकारले स्थानीय वा नेपाल बन्दमा निषेध र बन्द आयोजकबाटै क्षतिपूर्ति असुल गरिने भनी ल्याएको नीति तथा कार्यक्रमप्रति कडा आपत्ति जनाउँदै महतोले भने- ‘लोकतन्त्रमा बिरोध गर्ने अधिकार सबैको हुन्छ र यो नागरिकको बिरोध गर्नपाउने लोकतान्त्रिक अधिकार माथि नै हनन हो ।’ उनले थप्दै भने, ‘के एमाओवादी र एमालेले बिगतमा गरेको बन्द हड्तालले देशलाई भएको क्षतिको भर्पाई गर्न तयार छ ?’
सदभावना अध्यक्ष महतोले भूकम्प पीडित लाखौं जनतालाई एक वर्षपछि पनि राहत दिन नसक्ने सरकारले, भू उपग्रह, स्मार्ट सिटी र रेल चलाउने जस्तो कुरा गर्दा थोरै पनि नसुहाएको बताउँदै प्रम ओलीलाई बोलीले मात्रै होईन साँचिक्कै केही न केही गरेर देखाई दिने चुनौती समेत दिए ।












प्रतिक्रिया