१ कार्तिक २०८३, आइतबार

कैलालीका पहाडी गाविसमा खाद्यान्न संकट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chamal-khadya

– हेमन्त पौडेल
धनगढी, २७ वैशाख । लामो समयदेखिको खडेरीका कारण कैलाली जिल्लाको सात पहाडी गाविसमा खाद्यान्न संकट देखापरेको छ ।

भदौ महिनादेखि वर्षा नभएकाले पाहाडी गाविसमा लगाइएको हिउँदेवाली उत्पादनमा समस्या आएको छ । सो क्षेत्रमा लाएको गहुँका साथै बन्दा, काउली, आलु र गोलभेँडाजस्ता नगदे बाली समेत पानी नपर्दा उत्पादनमा ह्रस आएको छ ।

जिल्ला कृषि कार्यालय कैलालीका बालि विकास अधिकृत सुदीप खतिवडाकाले लामो खेडरीका कारण उत्पादनमा ह्रास आएपछि सो क्षेत्रमा खाद्यान्न संकट देखिएको जानकारी दिनुभयो । अघिल्ला वर्षहरुको तुलनामा ६० प्रतिशत उत्पादन कमी भएको उहाँले जानकारी दिनुभयो ।
कैलालीका गोदावरी, खैराला, मोहन्याल, निगाली, पण्डोन, सहजपुर र सुगरखाल गरि सात पहाडी गाविसका ८ हजार ४१८ घरधुरीले ३ हजार ८ सय ८८ हेक्टरमा गहुँ तथा तरकारी खेती गरेका थिए । पानी नभएकाले उत्पादनमा ६० प्रतिशत ह्रास भएपछि करिब १० करोड भन्दा बढीको क्षति किसानहरुले ब्यहोर्नुपरेको छ ।

आफ्नै लगानीमा किसानहरुले फसल निकाल्ने गरेपनि यस वर्ष लामो समयदेखि पानी नपरेकाले ठूलो क्षति ब्यहोर्नु परेको निगाली गाविसका सचिव लक्ष्मण जोशीले बताउनुभयो । निगाली गाविस फलफूलकालागि जिविसले पकेट क्षेत्र घोषणा गरेको छ ।

तर यस पटकको खडेरीले सुन्तला र मौसमीमा समेत क्षति गरेको सचिव जोशीले बताउनुभयो । यस वर्ष सुन्तला उत्पादनमा समेत कमी आउने उहाँले जानकारी दिनुभयो ।

कैलाली जिल्लाको ३ लाख २३ हजार ५०० हेक्टर क्षेत्रमध्ये ४० प्रतिशत भूभाग सात पाहाडी गाविसले ओगटेकाछन् । सो क्षेत्रमा हुँदै आएको उत्पादन घट्नेवित्तिकै ८ हजार ४१८ घरधुरीका मानिसहरु प्रभावित भएकाछन् । हाल सात पाहाडी गाविसमा भोकमरीको अवस्था सृजना भएको स्थानीय बासिन्दाहरु बताउँछन् । यसै त सो क्षेत्रमा उत्पादन गरेको अन्नले ४ महिनामात्र पुग्ने अवस्थामा यसपटकको लामो खडेरीले हिउँदे बाली उत्पादनमा पुर्याएको क्षतिले बाह्र महिना किनेर खानुपर्ने अवस्था आएको सुगरखाल गाविसका सचिव तेजबहादुर शाहले बताउनुभयो ।

खेती लगाउने जमिनहरु अहिले मरुभूमि जस्तै बनेकाछन् । सिँचाइको ब्यवस्था नभएका र सिँचाई ब्यवस्था भएका ठाउँमा पनि पानीको मुहना सुकेकाले सिँचाईमा समस्या भएकाले उत्पादमा समस्या आएको सचिव शाहले बताउनुभयो । गाउँमा अहिले भोकमरी अवस्था छ, सुक्खा क्षेत्र घोषणा गरेर स्थानीयलाई राहातको ब्यवस्था गर्नुपर्ने सचिव शाहले बताउनुभयो । भोकमरीबाट परिवारहरुलाई बचाउन अहिले पाहाडी गाविसका अधिकांश पुरुषहरु रोजगारीको लागि भारतमा गएकाछन् । जेन तेन परिवारहरु पालेको गुनासो गर्ने स्थानीयहरुले यस्तो अवस्थामा सरकारले केही राहातको ब्यवस्था गर्नुपर्ने माग गरेकाछन् ।

हिउँदमा लगाएको गहुँवाली पाहाडी गाविसका बासिन्दाहरुले भित्राउन नपाएको स्थानीयको गुनासो छ । भदौपछि पानी नै परेन बल्लतल्ल छरेको गहुँ बाली पसाउन नपाउँदै सुकेकाले दाना फल्नै सकेन सुगरखालगाविस सोल्टाका एक किसान रमेश विकले बताउनुभयो । गाउँघरमा मजदुरी पनि नपाउने भएकाले भारत गएका रमेशले केही पैसा लिएर आएको परिवाकालागि केही खाद्यान्न किनेर फेरि भारत जाने तयारीमा लागेकाछन् । केही बृद्धबृद्धाले सामाजिक भत्ताबाट आउने रकमले खाद्यान्नको जोहो गर्ने गरेकाछन भने काम गर्नसक्नेहरु भारत जाने गरेका छन् ।

गाउँघरमा हुने सानातिना विकास निर्माणका काममा केही मानिसहरु अल्झिएपनि अधिकांश मानिसहरु भारतनै जाने गरेकाछन् । हाल सात पाहाडी गाविसमा महिलाहरुको संख्या बढी छ । गाउँका बैठकहरुमा पनि महिलाहरुको उपस्थिति बढी हुने गरेको गाविस सचिवहरु बताउँछन् । करिब ९० प्रतिशत पुरुषहरु कामको खोजीमा देश बाहिर जाने गरेको अनुमान गरिएको छ ।

पहाडी गाविसमा खेतीयोग्य जमिन कम हुने र भएको जमिनमा पनि सिँचाईको ब्यवस्था नभएकाले उत्पादनमा समस्या आउने गरेको निगालीका हिक्मत बमले बताउनुभयो । पानीका मुहानहरु सुकेकाले स्थानीय कुलोमा पानी नआउँदा तरकारी खेती समेत प्रभावित भएको छ । सहजपुर, निगाली, गोदावरी लगायतका गाविसमा ब्यावसायिक तरकारी खेती समेत हुने गरेको थियो तर, खडेरीका कारण पानी नभएकाले उत्पादनमा समस्या देखिएको बमको भनाई छ ।

कृषि कार्यालय कैलालीका प्रमुख युवराज पाण्डेका अनुसार खडेरीका करण कैलालीका सात पाहाडी गाविसको खाद्यान्न उत्पादनमा देखिएको समस्याको बारेमा केन्द्रलाई जानकारी गराइसकेको छ । स्थानीय जनताले भोगेको समस्या र जनताले सुखाग्रस्त क्षेत्र घोषणाको मागका बारेमा केन्द्रलाई जानकारी गराएको प्रमुख पाण्डेको भनाई छ ।