काठमाडौं, २७ वैशाख । सरकारले वार्ताका लागि आह्वान गर्दै पत्र पठाएपछि सो विषयमा औपचारिक जवाफ दिने विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तयारी सुरु गरेको छ ।
संभवत आजै बेलुकासम्म मधेसी मोर्चाको बैठक बसेर सरकारसँगको वार्ता के गर्ने भन्ने विषयमा औपचारिक जानकारी पठाउने तयारी भएको छ । तर, मोर्चाका केही शीर्ष नेताहरू बाहिर रहेकाले बैठकको सम्भावना कम रहेको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो । बैठक आज बस्न नसके छिट्टै बसेर जवाफ दिने तयारी पनि भएको छ ।
‘मधेसी मोर्चाका नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर ज्यू मुलुक बाहिर हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘सायद आज आउनु हुन्छ होला आउनु भयो भने बेलुकासम्म बैठक बस्न सक्छ ।’
सरकारले वार्ताका लागि पत्र पठाए पनि घाइतेको उपचार र झुठ्ठा मुद्दा लगाइएकाहरूको मुद्दा फिर्ताका विषयमा केही नबोलेकाले मधेसी मोर्चाले सो विषयमा सरकारको जनकारी माग गर्ने उहाँले बताउनुभयो ।
सरकारले आन्दोलनरत मधेसी मोर्चालाई फेरि वार्तामा आह्वान गरेको छ । मधेसी मोर्चाले त्यसलाई धेरै महत्व दिएको छैन ।












प्रतिक्रिया