
काठमाडौं, २५ वैशाख । नेपालमा सरकार परिवर्तनको प्रयास असफल भएलगत्तै चीनले राजनीतिक स्थायित्व कायम गर्न सुझाव दिएको छ ।
चिनियाँं परराष्ट्रमन्त्री वाङ यीले बेइजिङस्थित नेपाली राजदूत महेशकुमार मास्केसँगको भेटमा शुक्रबार उक्त विचार व्यक्त गरेका हुन् ।
मास्केका अनुसार वर्तमान अवस्थामा नेपालको राजनीति निकै तरल रहेको र पछिल्लो राजनीतिक विकासक्रमलाई चीनले गम्भीर रूपमा लिएको संकेत पनि वाङले दिएका थिए । ‘परराष्ट्रमन्त्री वाङले नेपालका राजनीतिक दलहरूका बीचमा सहकार्य हुनुपर्ने कुरामा जोड दिनुभयो,’ मास्केले भने ।
राजनीतिक स्थायित्वकै कारण चीनले छोटो समयमा विकासको फड्को मारेको अनुभव सुनाउँदै उनले नेपालका राजनीतिक दलहरूबीच राम्रो समझदारी र साझेदारी हुनुपर्ने शुभेच्छा चीनले राखेको बताएको मास्केले उल्लेख गरे ।
नेपालमा छोटो समयमै सरकार विघटन हुंँदा चीनसँगका समझदारी तथा सम्झौताहरू बेवारिस हुन सक्ने बेइजिङको आकलन छ । चीनले विभिन्न माध्यमबाट यो विषयमा नेपाललाई सुझाव दिँदै आएको छ । राजदूत मास्केसँगको भेटमा पनि परराष्ट्रमन्त्री वाङले नेपालमा राजनीतिक स्थायित्व हुनुपर्ने कुरामा विशेष जोड दिएका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।















प्रतिक्रिया