८ कार्तिक २०८३, आइतबार

गुप्तचरका कर्मचारी राजनीतिक दलका ठूला नेताहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

National-Inteliganeceकाठमाडौं, २४ वैशाख । ‘पञ्चायतकालमा बनारसमा बीपीलाई भेटेर फर्किंदा हामीलाई सीमामै प्रहरीले पक्राउ गर्थ्यो, त्यतिवेलाको गुप्तचरी धेरै बलियो थियो’, बुधबारको राज्यव्यवस्था समितिको बैठकमा कांग्रेस सांसद आनन्द ढुंगानाले भने, ‘तर, अहिले हतियार नै बोकेर हिँड्दा पनि कसैले चाल पाउँदैनन्, किन यस्तो कमजोर भयो हाम्रो देशको गुप्तचरी ?’

ढुंगाना मात्र होइन, धेरै सांसदहरूले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग कमजोर भएको भन्दै आलोचना गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

विभाग राजनीतिक भर्ती केन्द्र बनेको र देशको गुप्तचरी कमजोर हुँदै गएको सांसदहरूको भनाइ थियो ।

बैठकमा बोलाइएका गृहमन्त्री शक्ति बस्नेत स्वयंले पनि गुप्तचरले राम्रो काम गर्न नसकेको स्वीकारे । तर, तीन दिनभित्र गुप्तचरलाई प्रभावकारी बनाउने एउटा योजना सुनाउन लागेपछि सांसदहरूको चासो बढ्यो ।

‘तपाईंहरू एउटा दबाब नदिनुस्, म तीन दिनभित्र गुप्तचरमा सुधार ल्याउँछु,’ मन्त्री बस्नेतले भने, ‘जुन जिल्लाको कर्मचारी हो, सोही जिल्लामा गुप्तचरका कर्मचारीलाई नराख्ने निर्णय गरियो भने मात्र पनि धेरै सुधार हुन्छ, तर तपाईंहरूले भोलिदेखि प्रेसर गर्न पाउनुहुन्न ।’

राष्ट्रिय अनुसन्धान विभागमा धेरैजसो दलका कार्यकर्ताहरू भर्ती हुने गरेका छन् । उनीहरू विभागमै बसेर पार्टीको राजनीतिसमेत गर्छन् ।

नियमित रूपमा कार्यालयमा बस्नुनपर्ने भएकाले उनीहरू गुप्तचरीभन्दा राजनीति र अन्य काममा सक्रिय हुने गरेकाले समग्र विभाग नै दलका कार्यकर्ताहरूको एकीकृत विभागजस्तो बन्न पुगेको विभागका एक उच्च अधिकारी बताउँछन् ।

भर्ना हुनेहरूको ठूला नेताहरूसँग राम्रो सम्बन्ध हुने भएकाले उनीहरूको सरुवासमेत गर्न नसकिने अवस्था छ ।