१ कार्तिक २०८३, आइतबार

पिउने पानी नपाउँदाको पीडा, ओभरहेड ट्यांकी निर्माणको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kailali-Water-problem
फाइल तस्वीर

– हेमन्त पौडेल
कैलाली, २३ वैशाख । पिउने पानीको संकट भोगिरहेका अत्तरिया नगरपालिका ७ हरिनगरका बासिन्दाहरुले ओभरहेड ट्याँकी निर्माणको माग गरेका छन् ।

लामो खडेरीका कारण जमिनमुनिको पानी सुकेपछि घरमा गाडिएका नल्कामा पानी आउन छोडेपछि स्थानीयहरुलाई पिउने पानीको समस्या भएको छ ।

अत्तरिया नगरपालिकाको वार्ड नं ७ हरिनगर क्षेत्रमा दलित तथा मुक्त कमैयाहरुका करिव ११ सय घरधुरी रहेकाछन् । सो घरधुरीमध्ये करिब ७–८ घरका नल्कामामात्र पानी आउने गरेको छ । पिउने पानीको अभावमा हरिनगरका बासिन्दाहरु काकाकुल बनेकाछन् । हरेक वर्षको गर्मी याममा सो क्षेत्रका बासिन्दाहरुले पिउने पानीको समस्या भोग्दै आएकाछन तर स्थायी समाधानकालागि सरोकारवाला निकायले कुनै चाँसो नदिएको स्थानीय बासिन्दा लालबहादुर भुलले बताउनुभयो ।

हरिनगर क्षेत्रमा बसोवास गर्ने करिब ११ सय घरधुरीकालागि खानेपानीको ओभरहेड ट्यांकी निर्माण गरेर पाइपलाईनबाट पानी वितरण गर्नुपर्ने माग स्थानीय बासिन्दाहरुको रहेको भुलले बताउनुभयो ।

दलित र जनजातिहरुको बसोवास रहेको सो वस्तीको समस्याका बारेमा सरोकारवाला निकाय समेत बेखवर रहेको देख्दा आफूहरु दुःखी भएको स्थानीय केदारेश्वर बोर्डिंग स्कुलका सञ्चालक गम्भीर केसी बताउनुहुन्छ । केसी धनगढीबाट स्कुल सञ्चालनकालागि सो क्षेत्रमा बस्दै आउनुभएको छ । उहाँले स्थानीय जनताले भोगेको खानेपानीको सममस्या समाधानकालागि स्थानीय निकायमा पुगेर जानकारी गराउने काम गर्दै आउनुभएको छ । पिउने पानीको अभावका कारण विद्यालय सञ्चालनमा समेत कठिनाई भोग्दै आउनुभएको छ । यस अघि जिविस र राष्टिय योजना आयोगका सदस्य विजय कुँवरको ध्यानाकर्षण गराउनुभएको थियो । हरिनगर क्षेत्रका जनताले पिउने पानीको संकट पर्दा समेत कोही फर्किर नआउँदा निकै दुःखी भएको अर्का स्थानीय बासिन्दा शिवराज चौधरी बताउनुहुन्छ ।

पिउने पानीको खोजीमा स्थानीयहरु भौतारिनुपर्ने बाद्यता रहेको छ । तर त्यसको समाधानको दीर्घकालिन समाधानका बारेमा कसैले पनि सोचिदिएनन् अर्का स्थानीय बासिन्दा विश्राम चौधरीले बताउनुभयो । पिउने पानीको अभावमा सो क्षेत्रको दैनिक जनजीवन निकै कष्टपूर्ण बन्दै गएको छ । पानीको अभावमा बस्तुभाउ पाल्न समेत गाह्रो भएको छ भने ब्यक्तिगत सरसफाईमा समेत समस्या भएको स्थानीय बासिन्दा जानकी चौधरीले बताउनुभयो । बस्तुभाउकोलागि पानी नभएका कारण घरमा पालिएका बस्तुभाउहरु धनगढी कञ्चनपुरको रैकवार विचवामा रहेका आफन्तहरुलाई दिएको जयबहादुर भुलले बताउनुभयो ।

पानीकै अभावमा घरघरमा निर्माण गरेका शौचालयहरु प्रयोगविहीन अवस्थामा पुगेकाछन् । तीन चार वर्ष अघि सो क्षेत्र खुला दिसामुक्त क्षेत्र घोषणा भएको थियो । तर अहिले पानीको अभावका कारण शौचालय प्रयोगमा ल्याउन समस्या हुने गरेको स्थानीयको भनाई छ । अहिले स्थानीयहरु शौचकालागि जंगल धाउनुपर्ने अवस्था रहेको उनीहरुको भनाई छ । सो ठाउँमा खानेपानीको ट्याँकी निर्माणकालागि २०६७ सालको परिषदले समेत पास गरेको छ तर पहुँचवाला मानिसहरु नभएकाले कार्यान्वयनकालागि पहल नभएको गुनासो समेत स्थानीयले राखेकाछन् । सोही बस्ती देखि करिब ४ किलोमिटर पश्चिम लालपुरमा करिब ९ करोडको लगानीमा खानेपानी आयोजना शुरु हुँदैछ तर सो क्षेत्रका बासिन्दा पानी नपाएर काकाकुल बन्दासमेत कुनै सुनुवाई भएकोछैन स्थानीय एकता समाजकी सचिव पुष्पा बोगटीले बताउनुभयो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका प्रमुख नारायण काफ्लेले सो क्षेत्रको स्थलगत निरिक्षण गरि त्याहाको बास्तविकता बुझेर काम अघि बढाउने बताउनुभयो । केही दिनमा स्थलगत भ्रमण गर्ने तयारीमा रहेको प्रमुख काफ्लेले जानकारी दिनुभयो ।