काठमाडौं, २१ वैशाख । पूर्व अर्थमन्त्री वर्षामान पुनले राजनीतिक स्थायित्वविना बजेट कार्यान्वयन हुन नसक्ने भन्दै आन्दोलनमा रहेको मधेसलाई राज्य आफूहरूसँग रहेको आभाष हुने गरी मधेस केन्द्रित गरी विशेष बजेट ल्याउनु पर्ने आवश्यकता औल्याएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘मधेसमा ठूलो आर्थिक असमानताको खाडल छ, राज्य आफूहरूसँगै भएको आभाष दिने गरी मधेस केन्द्रित अलग्गै कार्यक्रम भएको बजेट ल्याउनुपर्छ । यसले नयाँ संविधान कार्यान्वयनमा समेत सकारात्मक भूमिका खेल्छ ।’
नेता पुनले संविधान जारी भएपछि पहिलो पटक बजेट आउन लागेकोले जनताको अपेक्षा धेरै हुनु स्वभाविक भएपनि सबै पूरा हुन नसक्ने उल्लेख गर्दै बजेटले मुलुकको आर्थिक विकासको लक्ष्यलाई दीर्घकालीन रुपमा दिशा निर्देशन गर्ने खाल्को बजेट ल्याउनु पर्ने सुझाव दिनुभयो ।
पूर्व अर्थसचिव यूवराज भुषालले संविधानले नै छिटो बजेट ल्याउने ब्यवस्था गरेकोले अबको बजेटमा कार्यान्वयनको समस्या नहुने विश्वास ब्यक्त गर्दै विगतमा बजेट नै ढिला आउँदा कार्यान्वयनमा समस्या आएको बताउनुभयो ।
साउनबाट चौधौ योजना दिगो विकास, विकास उन्मुख राष्ट्रको सूचिमा पु¥याउने, गरिबी संख्या तल झार्ने लक्ष्यसहित आउने भएकोले बजेट पनि त्यसैको सेरोफेरोमा हुने विश्वास ब्यक्त गर्दै मुलुकको दिगो विकासको लागि उर्जा विकासमा प्रयाप्त लगानीको आवश्यकता औल्याउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रबीर मालाकारले मधेस आन्दोलन लगायतको समस्या समाधान हुन नसकेकोले आगामी बजेट कार्यान्वयनमा समेत शंका ब्यक्त गर्दै नेपालको प्रशासनयन्त्र कमजोर भएकोले आर्थिक विकास र बजेट कार्यान्वयनमा समस्या हुने गरेको अनुभव सुनाउनुभयो ।















प्रतिक्रिया