
– शेर बहादुर बस्नेत
‘भूकम्प पछी पानीको मुल सुकेर पिउने पानी पाउन छोडेपछी बाउ बाजेको पाला देखि बसोबास गरेको आफ्नो थात थलो छोडेर हिड्ने विचार बनाएको थिँए, तर अहिले पानीको ब्यवस्था गर्न सकेपछी बसाई हिड्ने विचार बदलेँ ।’ धादिङ जिल्लाको खरी गाविस बडा नं. १ का ४१ बर्षिय राजाराम अधिकारीले केही समय पहिले पानीको समस्याले गर्दा गाउँ छोड्ने विचार गरेको कुरा यसरी सुनाउनुभयो ।
बैशाख १२ गतेको भूकम्पले गाउँ नजिकै रहेको पानीको मुल सुक्यो । २ सय २० घरधुरीले खाँदै गरेको पानीको श्रोत सुकेपछी गाउँलेहरु काकाकुल जस्तै भए । विशेष गरेर घरका महिलाहरुको काम पानी खोज्ने मुख्य कामको रुपमा देखा पर्यो ।
समुदायको महिनौको सम्मको प्रयास पछि अहिले गाँउमा पानी पुगेको छ । पानी ल्याउन सकेकोमा गाउँघरका मानिस खुसी छन ।

भूकम्पका कारण पहिलेकोे मुल सुकेपछी त्यो भन्दा २ सय मिटर तल तिनवटा पानीको मुलहरु भेटिए ति मुलबाट पानी संकलन गर्न सके पानीको समस्या टर्ने थियो भन्ने विचारका साथ गाँउलेहरु सहयोगी हातहरुको खोजीमा निक्लिए । खरी गाविसमा डिसिए संगको साझेदारीमा मानविय राहात कार्यक्रम संचालन गर्दै गरेको संस्था फाया नेपाल हाम्रो लागी सहयोगी बन्न सक्छ भन्ने आशाका साथ पानी ब्यवस्थापनका लागी समन्वय गरे ।
यस सम्बन्धमा राजाराम अधिकारी भन्छन- ‘हामीले पानी खान नपाएपछी फाया नेपालसंग सहयोगको अनुरोध गर्ने निर्णय गर्यौं । हामीलाई विश्वास थियो भगवानको रुप लिएर दुःखको बेला राहात ल्याउने संस्थाले पक्कै पनि यो दुःख हेरेर बस्न सक्दैन साँच्चै सोचे जस्तो भयो हामीले आज पानी खान पायौं ।’ अहिले खाने पानी गाउँमा त आयो तर यो त्यति सजिलै आएको होइन ।
धुसेनी खानेपानी आयोजनाका अध्यक्ष खिल बहादुर भण्डारी भन्नुहुन्छ– ‘हामीले खाईरहेको मुल सुक्यो त्यहाँ भन्दा धेरै तल तिन वटा पानीका मुल भेटिए त्यसैबाट पानी संकलन गरेर गाँउमा पानी पुर्याउने हाम्रो योजनामा मुल नजिकका गाँउलेले विरोध गरे फाया नेपालमा काम नगरिदिन निवेदन हाले जिल्ला प्रशासन कार्यालयमा मुद्धाहाले पाउनु दुःख पाइयो तै पनि लामो समयको विवाद पछी गाँउलेको सहमती जुट्यो र आज हामीले यो खानेपानी आयोजना सम्पन्न गर्न सक्यौं हामी धेरै खुसी भएका छौं ।’

खानेपानी आयोजनामार्फत पानी संकलन हुन थालेपछी वितरणको कामको जिम्मा लिनु भएका ५९ बर्षिय शेर बहादुर भण्डारीको काम अहिले ३ सय मिटर तल रहेको १४ हजार लिटरको ट्यांकी रहेको संकलन केन्द्रबाट पानी पम्पगरी माथिल्लो संकलन केन्द्रमा पठाउने र माथिल्लो १२ हजार लिटरको ट्ंयाकीमा संकलन भएको पानी गाँउमा रहेका शाखा ट्याकींहरुमा पानी वितरणका लागी पठाउने काम भ्याइ नभ्याई छ ।
‘अब त म आफैं इन्जिनियर हुन आँटे पानीका पाइप फुटीरहन्छन तिनको मर्मत । प्यानल बोर्डमा समस्या आँउछ त्यसको मर्मत आदी कामले मलाई पनि प्राविधक बनाइ सक्यो ।’ विहान ५ बजे देखि साँझ सम्म पानीको रेखदेख गर्दै गाँउमा पानी पुर्याउन खट्ने शेर बहादुर भण्डारीले आफ्नो पानी ब्यवस्थापनको अनुभव बढेको कुरा यसरी ब्यक्त गर्नुभयो ।
पानीको समस्या हुन थाले पछी गाँउलेले गाइ बस्तु बेच्न थालेका , करेसाबारीको काम हुन छोडेको,ब्यक्तिगत सरसफाईमा समस्या हुनेगरेको र कतिपय मानिसहरु पानीकै कारण गाँउनै छोडेर अन्यत्र जाने तरखरमा रहेको कुरा राजाराम अधिकारीले बताउनु भयो । अधिकारले थपे ‘तीन घण्टा लगाएर एक गाग्री पानी ल्याउनु पर्ने त्यो पनी फोहर । नुहाउने लुगा धुने त कुरै छाडौ घाँटी भिजाउने कसरी यही चिन्ता थियो हामीलाई । मैले त धेरै पटक धादिगं वेसी शहरमा गएर नुहाँए, सवैलाइ यो सम्भव पनि थिएन ।’

अधिकारीले भावुक हुँदै भन्नुभयो ‘सर, जुन दिन त्यती तलबाट पानी तानेर यो माथिल्लो ट्यांकीमा पानी खस्यो मेरा आँखाबाट आँसु खसे तर ति दुःखका हैनन सुखका थिए । पानी तानेर ख्वाउँछौ भन्दा यो नहुने काम भनेर केही मान्छेले भड्काउन पनी खोजे तर हामी डगमगाएनौ सफलता हाम्रो अगाडी छ । अव यस गाँउका १२ सय जति मान्छेले पिउने पानीेको समस्याबाट छुटकारा पाएका छन । सायद अव मरिन्न होला ।’
धुसेनी खानेपानी आयोजनाको परिक्षण सम्पन्न भए पछि आयोजनाका प्राविधिक फाया नेपालका इन्जिनियर पुष्कर रिजाल भन्नु हुन्छ ‘हाम्रा लागि यो एउटा चुनौतिपुर्ण योजना थियो । ३ सय मिटर तलरहेको तिनवटा मुलबाट पानी संकलन गरेर पम्प प्रणालीबाट समुदायमा पुर्याउनु सजिलो थिएन । सवैको साझा मेहनतले यो संभव भयो । मलाई यसमा सहयोग गर्ने समुदाय र विश्वासका साथ मलाई कामको जिम्मा दिने मेरो संस्था प्रति धन्यवाद दिन चाहान्छु ।’
पानीको चरम दुःख खेपेका खरी गाविसको वडा नं १ र २ धुसेनी गाँउमा खानेपानीको लागी डिसिए संगको सहकार्यमा फाया नेपालले प्राविविक र आर्थिक सहयोग गरेको थियो । फाया नेपलको तर्फबाट लगभग १५ लाख रुपैंया बराबरको सहयोग रहेको यस परियोजनामा आवश्यक पर्ने विद्युतीकरणको काम विद्युत कार्यालयले गरेको थियो । अदक्ष श्रमका लागी गाँउलेहरुको श्रमदान मार्फत तिन महिना लगाएर बनाएको यो योजनाले गाँउमा एउटा खुसी थपेको छ ।















प्रतिक्रिया