काठमाडौं, १९ वैशाख । एमालेका प्रवाससहित २२ भ्रातृ संगठन छन् । तीमध्ये सात भ्रातृ संगठनले विधानविपरीत कार्यकाल गुजारेको वर्षौँ भएको छ । ती संगठनले समयमा अधिवेशन गरेका छैनन् । अधिवेशन गरेका संगठनमा पनि विवाद छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
०६२/६३ को आन्दोलनपछि एमालेले जनजाति र अल्पसंख्यकलाई समेट्न नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गठन गर्यो ।
३ असोज ०६३ मा हालका एमाले सचिव पृथ्वीसुब्बा गुरुङ महासंघको तदर्थ समिति अध्यक्ष चुनिए ।
महासंघको विधानमा नेतृत्वको कार्यकाल चार वर्ष उल्लेख छ । तर, १० वर्षपछि महासंघले आगामी २९ जेठमा काठमाडौंमा प्रथम अधिवेशन आयोजना गर्दैछ ।
अखिल नेपाल किसान महासंघले नौ वर्षपछि गत २७ चैतमा अधिवेशन गरेको छ । यसअघि किसान महासंघको अधिवेशन ०६४ मा भएको थियो ।
विधानको व्यवस्था नै संशोधन गरेर एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतम तेस्रोपटक अध्यक्षमा चुनिएका छन् ।
एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा पार्टीको संस्थापन र माधवकुमार नेपाल पक्षबीच विवाद छ ।
दुई महिनाअघि अखिल अध्यक्षमा संस्थापननिकट नवीना लामा निर्वाचित भइन् ।
कमिटीमा लामा पक्षकै बहुमत छ । तर, नयाँ नेतृत्वले पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी नियन्त्रणबारे आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बोलाएर कार्यक्रम गरेको भन्दै नेपाल पक्षले प्रतिवाद गरेपछि अखिलमा दुई पक्षबीच विवाद चर्किंदै गएको छ ।
युवा संघ नेपालको अहिलेको नेतृत्वले पनि समयमै अधिवेशन गर्न नसकेर तीन महिना गुजारेको छ ।
नीरु पालले बिदा लिएपछि गत असोजमा अध्यक्ष चुनिएका राजीव पहाडीले एक वर्षभित्र अधिवेशन गर्ने बताउँदै आएका छन् । ‘आगामी २९ र ३० जेठमा बस्ने केन्द्रीय कमिटीमा अधिवेशनका विषयमा छलफल हुनेछ’, संघका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले भने । संघमा लामो समयदेखि विधानको विषयमा विवाद चल्दै आएको छ ।
अनेमसंघकी तत्कालीन अध्यक्ष विद्या भण्डारी राष्ट्रपति निर्वाचित भएकी छिन् । तीनवर्षे कार्यकाल सकिएकाले डेढ वर्षअघि भण्डारीकै पालामा अधिवेशन हुनुपर्ने थियो ।
तर, भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि गत मंसिरमा उनले राजीनामा दिइन् । रिक्त पदको जिम्मेवारीमा अहिले वरिष्ठ उपाध्यक्ष गोमा देवकोटा छिन् ।
तर, संघको अधिवेशनको टुंगो अझै लागेको छैन । ‘अब छलफल गर्छौँ’, देवकोटाले भनिन् ।















प्रतिक्रिया