
– हेमन्त पौडेल
हरिनगर (कैलाली), १८ वैशाख । पानीको मुहान सुकेर पाहाडी जिल्लाहरुमा पिउने पानीको समस्या भोग्नुपरेको अवस्थामा तराईको कैलाली जिल्लाको अत्तरिया नगरपालिकाको एउटा पूरै वार्ड पिउने पानी नपाएर काकाकुल बनेको छ ।
पहाडमा मुहान सुकेर पिउने पानीको समस्या देखिएकोमा तराईमा भने जमिन मुनीको पानी सुकेर गाडिएका नल्काबाट पानी नआउँदा वस्तीनै काकाकुल बन्नुपरेको गुनासो स्थानीय बासिन्दाको छ ।
साविकको श्रीपुर गाविसको ६ नम्बर वार्ड हाल अत्तरिया नगरपालिकाको वार्ड नं ७ हरिनगरमा गाडिएका नल्काबाट पानी आउन छोडेपछि यस क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ । करिब ११ सय घरधुरी रहेको सो क्षेत्रमा मुश्किलले ७–८ घरका नल्कामा पानी आउने गरेको छ । तराईका अधिकांश स्थानमा जमिनमुनीबाट पानी निकालेर पिउने पानीको ब्यवस्थ गरिन्छ तर तराइको जिल्ला र खुटिया नदीको नजिकै रहेको सो वस्तीमा नल्कामा पानी नआएपछि पूरै वस्ती काकाकुल बनेको छ । यस अघिका वर्षमा पनि पिउने पानीको समस्याबाट पिडित स्थानीय बासिन्दाहरु यसवर्ष हिउँददेखि नै पानी नपरेका कारण बढी संकटमा परेका छन् ।
सरकारले सो क्षेत्रमा मुक्त कमैयाहरुको वस्ती बसालेको छ । सो क्षेत्रमा करिब ६० प्रतिशत चौधरी, ३० प्रतिशत दलित र १० प्रतिशत गैरदलितहरुको बस्ती रहेको छ । चौधरी र दलित समुदायका मानिसहरुको बसोवास भएकाले उनीहरुको पहुँच सरोकारवाला निकायमा नपुगेकाले यस्तो समस्या भोग्नुपरेको गुनसो हरिनगरका स्थानीय बासिन्दा शिवराज चौधरी बताउनुहुन्छ । पानीको अभावमा पूरै वस्ती प्रताडित हुँदासमेत कसैको ध्यान नगएको चौधरीको भनाई छ ।
पानी नभएका कारण करिब ७÷८ घर विस्तापित भइसकेका छन् । विकल्प नभएका मानिसहरु सोही ठाउँमा जेनतेन बसिरहेको स्थानीय केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपल गम्भीर केसीले बताउनुभयो । पिउने पानीको समस्याले आफ्नो स्कुल समेत प्रभावित भएको उहाँले बताउनुभयो । सो वस्ती वरीपरिका मानिसहरुले आफ्नो स्कुलको नल्कामा जेनतेन पानी आउने भएकाले काम चलाउ गरेको उहाँले बताउनुभयो । घरमा गाडीएका नल्काहरु १० फिट गहिरो खाल्डो पारेर मेशिन जोड्दा पनि पानी नआएपछि स्थानीय हैरान भएका छन् ।
वस्तीमा गाडिएका बोरिंगबाट समेत पानी आउन छोडेको छ । गाउँका करिब ४÷५ बोरिंग मध्ये एउटाबाटमात्र सानो पानी आइरहेको छ । दुई वर्ष अघि करिब ढाई लाख रुपैंया खर्च गरेर बोरिंग गाडेपनि हाल पानी आउन छोडेको स्थानीय उदयसिंह रोकाले बताउनुभयो । पानीको अभावमा पूरै वस्ती तड्पिएको छ । जेनतेन पानीको जोहो गरेर जीवन त बचाएका छौ तर यसरी कति दिन गर्न सकिन्छ रोकाले भन्नुभयो ।
चुरेको फेदीसंगै जोडिएको सो वस्तीमा पानी नहुँदा जमिन पूरै मरुभूमि बनेको छ । आकाशे पानीको भरमा रहेको सो क्षेत्रका बासिन्दाले यस वर्ष धानको बिउसमेत राख्न नपाउने अवस्था देखिएको छ । डोकोमा जर्किन राखेर पानीको खोजीमा भौंतारिनुपर्ने यस क्षेत्रका बासिन्दाको नियति बनेको अर्का स्थानीय बासिन्दा लालबहादुर भुलले बताउनुभयो । कसको नल्कामा पानी पाइन्छ भन्दै करिब २–३ घण्टाको दुरीमा हिंड्नुपर्ने बाद्यता रहेको छ भुलले भन्नुभयो ।
पानीको खोजीमा निस्किएपनि सहजरुमा सवैले नल्काबाट पानी भर्न नदिने गरेको गुनासो पारुदेवी भुलले बताउनुभयो । महिलाहरुलाई बढी पानीको आवश्यकता पर्ने र पानी प्रयाप्त नपाउँदा निकै पिडा भोग्नुपरेको गुनासो पनि उहाँको छ । खाना पकाउनेदेखि लत्ताकपडा धुन समेत पानीको आवश्यक पर्ने भएकाले पिउने पानीको जोहोमानै समय वित्ने भएकाले नुहाउने र कपडा धुने पानी नपाउँदा त्यसै बस्नुपरेको उहाँले बताउनुभयो । पानीकै अभावमा दुई महिनादेखि ननुहाएको बृद्धा विश्राम चौधरीले बताउनुभयो । गर्मीमा पसिना आउने भएकाले शरिर पनि गन्हाएको छ भने शरिरमा फोका आएर चिलाउने गरेको चौधरीले बताउनुभयो ।
स्थानीय बासिन्दाहरुले इनार खनेर पानीको ब्यवस्था गर्न खोजेपनि सफल हुनसकेकाछैनन् । जमिनको निकै तलमात्र पानीको सतह भएकाले कुवा खन्दासमेत पानी भेटाउन सकेका छैनन् । हजारौं खर्च गरेर कुवा खनाउँदा समेत पानी भेटिएन जयबहादुर भुलले भन्नुभयो । २०६७ सालको गाउँ परिषदबाट हरिनगरमा खानेपानीको ब्यवस्थाकालागि पास गरेर जिविसमा पठाएपनि त्यसको सुनुवाई भएको छैन । हरेक चुनावमा राजनीतिक पार्टीका नेताहरु उम्मेदवारका साथ सो ठाउँमापुग्ने गरेको र स्थानीयले भोग्नुपरेको समस्या समाधान गर्ने बचन दिने गरेपनि चुनावका समयमा गाउँ पुगेका उम्मेदवारहरु चुनवा पछि गाउँ फर्किएकाछैनन् । चुनावका बेला हरिनगरको खानेपानीको समस्या समाधानकालागि लाग्ने बचन दिनुभएका सो क्षेत्रबाट निर्वाचित सांसद दिर्घराज भाट हालसम्म आफ्नो गाउँमा नआएको जानकी चौधरीले बताउनुभयो ।
यतिबेला सवै गाउँलेहरुको एउटै पुकार छ सरकार ! पिउने पानीको ब्यवस्था गरि हाम्रो जीवन बचाई देउ । समाचार संकलनका लागि हरिनगर पुगेका सञ्चारकर्मीहरुसंग गाउँलेहरुले भने हाम्रो यो दुःख सरकारलाई सुनाई दिनुहोला । हाम्रा सांसदलाई एक पटक हरिनगर पुग्न भनिदिनुहोला ८४ वर्षिय बृद्ध विश्रामले भन्नुभयो ।
साविककै श्रीपुर गाविस हुँदानै खुला दिसामुक्त क्षेत्र घोषणा भएको सो क्षेत्र आजभोली पानीको अभावमा मानिसहरु शौचालयको प्रयोग कम गर्दै गएकाछन् ।पिउने पानीको समेत समस्या भएको अवस्थामा शौचालयमा प्रयोग गर्ने पानीको निकै संकट पर्ने भएकाले शौचालय प्रयोग गर्ने मानिसहरु घट्दै गएका हुन । सो क्षेत्रमा बनाइएका शौचालयका पिनमा दिशाले भरिएको छ ।
पानी नभएका कारण मनिसहरु शौचालयका लागि जंगलनै जानुपर्ने बाद्यता भएको स्थानीय बासिन्दाहरु बताउँछन् । सो क्षेत्रमा पिउने पानीको ब्यवस्थाकालागि एकता समाज श्रीपुरले निकै पहल गरेपनि सुनुवाई नभएको समाजकी सचिव पुष्पा बोगटीले बताउनुभयो । पानीबिना जीवन बचाउन गाह्रो हुन्छ तर त्यही जीवन बचाउने पानी नपाएर हरिनगरबासी तड्पिदा समेत कहिँकतैबाट पानीकोलागि पहल भएन बोगटीले भन्नुभयो ।
गर्मीको समयमा बढी सरसफाईमा ध्यानदिनुपर्ने हुन्छ तर सरसफाईको त कुरै छोडौं जीवन बचाउ पिउने पानी समेत पाउन सकेकाछैनन् । ११०० घरधुरीका मानिसहरु पानी नपाएर काकाकुल बनेको अवस्थामा सरकारले समस्या समाधानकालागि हरिनगर क्षेत्रमा ओभर हेड ट्याँकी निर्माण गरेर पानी वितरण गर्नुपर्ने माग स्थानीय बासिन्दाको छ ।
तीन किलोमिटर पश्चिम लालपुरमा करिब ९ करोडको लागतमा एउटा खानेपानीको योजना बन्दै छ तर त्यसले यस क्षेत्रमा नपुग्ने भएकाले छुट्टै आयोजना निर्माण गरिदिन सरकारसंग स्थानीयको माग छ । तर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढी भने हरिनगर क्षेत्रको पिउने पानीको समस्याका बारेमा अनभिज्ञता देखाएको छ ।
हामीहरुलाई सो क्षेत्रको वस्तीमानै पानी छैन भन्ने बारेमा जानकारी नभएको निमित्त कार्यालय प्रमुख दलबहादुर शाहले बताउनुभयो । एक साताभित्र सो क्षेत्रमा पुगेर बास्तवितका बुझेर सम्बन्धित मन्त्रालयलाई जानकारी गराउने निमित्त प्रमुख शाहले बताउनुभयो ।
डिभिजन कार्यालयको बजेटले नभ्याउने भएकाले माथिनै लेखि पठाउनुपर्ने अवस्था रहेको डिभिजन कार्यालयका इन्जिनियर गणेश उपाध्यायले जानकारी दिनुभयो ।
एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य तथा कैलाली क्षेत्रनं ५ का पूर्व साँसद लेखराज भट्टले सो क्षेत्रमा खानेपानीको समस्याका बारेमा आफूलाई जानकारी नभएको बताउनुभयो । जनताले खानेपानीको समस्या भोग्नुपरेको छ भने त्यसका लागि स्थायी समाधान के हुन्छ त्यसका लागि पहल गर्ने उहाँले बताउनुभयो ।
तर, सो क्षेत्रका वर्तमान साँदस दिर्घराज भाटले सो क्षेत्रमा खानेपानीको समस्याका बारेमा कसैले नभनेको तर पत्रकारहरुले त्यसै उचालको भन्दै आक्रोशित हुनुभयो । साँसद गाउँ नपुगेको भन्ने गुनासोको बारेमा साँसद भाटले आफु सबैभन्दा बढी गाउँमा गएको दावी गर्दै भन्नुभयो पत्रकारहरुले बद्नाम गर्न समाचार लेखे त्यसविरुद्ध मुद्धा हाल्ने चेतावनी दिनुभयो ।
गाउँमा नपुगेको समाचार लेखे पत्रकारको नाममा मुद्धा हाल्छुः साँसद भाट
कैलाली क्षेत्र नं ५ का साँसद दिर्घराज भाटले आफु गाउँमा नपुगेको समाचार छापेमा पत्रकारका विरुद्ध मुद्धा हल्ने बताउनुभएको छ ।
अत्तरिया नगरपालिका वार्डनं ७ को हरिनगरमा खानेपानीको समस्याका बारेमा स्थलगत रिर्पोटिंग गरेर फर्किएपछि साँसदको प्रतिक्रिया लिनेक्रममा साँसद भाटले मजति कुनै साँसद पनि गाउँमा गएको छैनन् तर साँसद गाउँमा नगएको समाचार लेखेर भ्रम छरेमा पत्रकारका विरुद्ध मुद्धा हाल्ने उहाँले बताउनुभयो ।
हरिनगरका बासिन्दाले चुनाव जितेपछि साँसद दिर्घराज भाट आफ्नो ठाउँमा नपुगेको भन्ने गुनासो छ भन्ने जिज्ञासापछि साँसद भाटले झोक्दिै तपाईं पत्रकार उस्तै होकी त्याहाँका गाउँले उस्तै हुन बुझ्नै सकिएन । म त प्रत्येक पटक त्यही गाउँमा पुगेको छु मलाई त कसैले केही भनेन तपाई त्यसै बद्नाम गर्ने भन्दै रिसाउनुभयो ।
कसले भन्यो म गाउँमा नपुगेको ? मान्छे देखाउनुहोस त गाउँको बडघरले भन्योकी भलभन्साले भन्यो त्यसै बद्नाम गर्ने ? स्थानीय महिलाहरु विषेश गरेर तपाईको नाम उल्लेख गरेका थिए भन्ने सञ्चारकर्मीको जिज्ञासामा निकै आक्रामक हुनुभएका भाटले तपाईहरु मनगढन्ते कुरा गर्ने मजति गाउँ जाने कोही साँसद छैन मेरो बद्नाम गर्ने ? मैले त्यो ठाउँमा तटबन्धको काम गरेको छु बाटो ग्राभेल गरेको छु त्यो काम होइन ? उहाँले पश्न गर्नुभयो ।
एघार सय घरधुरीका मानिसहरु त्याहाँ गाडिएका नल्कामा पानी नआएर हैरान भएकाछन पिउने पानीको स्थायी समस्या समाधान चाहेका छन भन्ने कुरा राख्दा साँसद भाटले भन्नुभयो – तपाई मसंग बहस नगर्नुहोस धेरै कुरा गर्नुपर्दैन पत्रकार भएभन्दैमा जेपनि भन्न मिल्छ ? पत्रकारसंग डराउने मान्छे म होइन यस्ता गलत कुरा गरेर भ्रम नछर्नुस ठिक हुँदैन उहाँले भन्नुभयो ।
जनताले गरेको गुनासो साँसदजीलाई सुनाएको हो भन्ने कुराप्रति साँसद भाट जंगिदै भन्नुभयो मलाई अहिलेसम्म खानेपानीको समस्याका बारेमा कसैले भनेकाछैनन तपाई त्यसै जान्ने हुने ।
साँसद भाट प्रेसरमा जस्तो देखिएपछि अहिले टेन्सनमा हुनुहुन्छकी क्याहो पछि गरौंला यसलाई त फिडब्याकका रुपमा लिनुपर्ने थियो भन्दा तपाईसंग कुरा गर्नुछैन फोन राख्नुहोस भन्दै साँसद भाटले मोवाइल राख्नुभयो ।















प्रतिक्रिया