१ कार्तिक २०८३, आइतबार

ठेकदारहरुसंग औजार नहुँदा कैलालीमा विकास निर्माणका काम प्रभावित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadak-nabalparasi (8)
फाइल तस्वीर

– हेमन्त पौडेल
कैलाली, १७ वैशाख । सुदूरपश्चिमकै एक सुगम जिल्लाका रुपमा चिनिने कैलालीमा हुने विकास निर्माणका कार्यहरु निर्माण सम्बन्धि औजारहरुको अभावमा प्रभावित हुने गरेको पाइएको छ ।

विकास निर्माणको ठेक्का पाएका सबै निर्माण व्यवसायीहरुसँग पर्याप्त आवश्यक औजार नहुँदा जिल्लामा हुने केही ठूला विकास निर्माण कार्यहरु प्रभावित हुने गरेको पाइएको हो ।

निर्माण व्यवसायीहरुलाई आर्थिक क्षमता, कार्यअनुभव, जनशक्ति र मेशिन तथा उपकरणको आधारमा ‘क’ देखि ‘घ’ वर्गसम्म विभाजन गरिएका छन् । यसमा ‘क’ वर्गका व्यवसायीहरुसँग थियोडोलाइट, ट्रक, वाटरपम्प, कंक्रिट मिक्सचर, ल्याब इक्यूपमेन्ट र स्काइभेटर, व्याकहोइ, बुलडोजमध्ये कुनै एक हुनुपर्ने निर्माण व्यवसाय नियमावलीमा उल्लेख छ । त्यस्तै, ‘ख’ वर्गका निर्माण व्यवसायीहरुका लागि लोडर, क्रसर, भाइबे्रटिङ रोलर, मोटर ग्रेडर लगायत जम्मा १२ वटा मेसिन तथा उपकरणहरु हुनुपर्ने भनिएको छ । त्यस्तै, ‘ख’ वर्गका व्यवसायीहरुसँग विभिन्न १० वटा, ‘ग’ वर्गका लागि पाँचवटा र ‘घ’ वर्गका लागि तीनवटा मेशिन तथा उपकरणहरु हुनुपर्ने नियमावलीमा उल्लेख छ ।

कैलालीमा भएका सबै निर्माण व्यवसायीहरुसँग नियमावलीमा उल्लेख भएअनुसार मेशिन तथा उपकरणहरु छैनन् । जिल्लामा यस वर्ष आफ्नो व्यवसाय नविकरण गरेका ३ सय ७६ जना व्यवसायी छन् । जसमध्ये ‘क’ वर्ग र ‘ख’ वर्गमा चार–चार जना व्यवसायी छन् भने ‘ग’ मा ३९ र बाँकी ‘घ’ वर्गमा रहेको निर्माण व्यवसायी संघ कैलालीका कार्यलय प्रमुख शिवराज ओझाले बताउनुभयो । यीं मध्ये अहिले ‘ख’ वर्गका निर्माण व्यवसायीहरुसँग निर्माण सम्बन्धि मेशिन तथा उपकरणहरु नरहेको उहाँले बताउनुभयो । जुन निर्माण व्यवसायको निमावलीसँग मेल खाँदैन ।

त्यस्तै, ‘ग’ र ‘घ’ वर्गका निर्माण व्यवसायीहरुमध्ये पनि सबैसँग निर्माण गर्ने मेशिन तथा उपकरणहरु नभएको ओझाले बताउनुभयो । औजार अभावमा यहाँका थुप्रै विकास निर्माणका कार्यहरु समयमै हुन नसकिरहेको उहाँको भनाई छ ।

धनगढी उपमहानगरपालिकाका ईन्जिनियर दिजराज भट्टले सुदूरपश्चिममा निर्माण व्यवसायीहरुसंग निर्माण सम्बन्धि औजारहरुको अभाव हुँदा यस क्षेत्रमा हुने निर्माण कार्यहरुमा ढिलाई हुँदै गएको बताउनुभयो । उहाँले यहाँका ठूला–ठूला विकास निर्माणका कार्यहरुका लागि यहाँका निर्माण व्यवसायीहरुले पूर्वबाट औजारहरु भाडामा ल्याउने गरेको बताउनुभयो । पूर्वका काम भएपछि नै यस क्षेत्रमा औजार आउने र यहाँका विकास निर्माणका कामहरु हुने उहाँको भनाई छ । ‘पहिले पहिले भारतबाट भाडामा मेसिन तथा उपकरणहरु यहाँको विकास निर्माणमा प्रयोग हुने गरिन्थयो’ उहाँले भन्नुभयो ‘सरकारले बन्द गरेपछि अहिले यहाँका निर्माण व्यवसायीहरुले उपकरणहरुका लागि पूवका व्यवसायीहरुको भर पर्नुपर्ने अवस्था आएको छ ।’

करिब पौने एक महिना अघिदेखि सुरु हुने भनिएको धनगढीस्थित साल्टटे«ेडिङ सडक पनि उपकरण अभावमा ढिलाई भएको थियो । निर्माण व्यवसायी संघ कैलालीका निवर्तमान अध्यक्ष किशोर ठकुराठीले औजार अभावमा केही दिन काममा ढिलाई भएको यसअघि नै बताउनुभएको थियो । यद्यपी तीनदेखि अघिदेखि साल्टट्रेडिङ सडकको स्तरोन्नतिको काम सुरु भईसकेको छ । यति मात्रै होइन, जिल्लाका अधिकांश विकास निर्माणका कार्यहरु उपकरण अभावमा ढिलाई हुने गरेका छन् ।

अहिले कुनै ठाउँमा निर्माण व्यवसायीहले विकास निर्माणको काम लागि टेण्डर आह्वान गर्दा सम्बन्धित निकायले व्यवसायीसंग निर्माण सम्बन्धि उपकरणहरु नभएपनि टेण्डर स्विकृत गर्दा समस्या आइरहेको स्थानीयले बताएका छन् । भाडामा उपकरण ल्याउने सर्तमा पनि निर्माण व्यवसायीहरुले टेण्डर हात पारिरहेका स्रोतको भनाई छ । यहि कारणले नै निर्माण कार्य प्रभावित हुँदै गइरहेको देखिन्छ ।