काठमाडौं, १६ वैशाख । कोरियाले नेपाली कामदारको कोटा घटाएको छ । अर्थतन्त्रमा आएको मन्दी र गत वर्ष प्रक्रिया पूरा गरेर जान नपाएकाको रोस्टरमा लामो सूची रहेका कारण दक्षिण कोरियाले आगामी वर्षका लागि नेपालमा कामदारको कोटा कटौती गरेको हो ।
सन् २०१७ मा कोरियाले अधिकतम ३१ सय नेपाली परीक्षार्थीलाई मात्र भाषा परीक्षामा उत्तीर्ण गराउने जानकारी दिएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । गत वर्ष आठ हजार पाँच सयजना परीक्षार्थी भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये अहिलेसम्म २५ सय मात्रै काम गर्न कोरिया जान पाएका छन् ।
गत वर्ष भाषा परीक्षा पास गरेकालाई कोरियाली रोजगारदाताले लैजाने क्रम चलिरहेको छ । परीक्षा पास गरेकाको नाम रोस्टरमा समावेश गरिएको हुन्छ । सोही आधारमा रोजगारदाताले मन परेका व्यक्ति छानेर काम गर्न बोलाउने गर्छन् ।
पछिल्लो समय कोरियाको अर्थतन्त्रमा सामान्य मन्दी आएको छ । आन्तरिक बजारमा पनि रोजगारीको माग बढेको अनुमान छ ।
यसले पनि विदेशी कामदारको कोटा केही घटाएको हुन सक्ने इपीएस कोरिया शााखाको बुझाइ छ ।
गत वर्ष भूकम्पका कारण कोरियाले नेपालको कोटा बढाएको थियो । सोही कोटाअनुसार अहिले कामदार पठाउने कार्य भइरहेको छ । पछिल्लो समय कोरियाले अनुभवी कामदारलाई प्राथमिकता दिन थालेको छ ।
काम गरेर फर्किएकालाई लैजाने क्रम बढेको छ । कोरियामा चार वर्ष १० महिना काम गरेर फर्किएकाले केही समय नेपालमा बसेपछि फेरि जान पाउने नियम छ ।
काम गरेर फर्किएकाले कम्प्युटरमा आधारित सामान्य किसिमका परीक्षा ९सीबीटी० पास गरेपछि पुनः जान पाउँछन् । प्रत्येक तीन महिनामा यस्तो सीबीटी परीक्षा सञ्चालन हुने गरेको छ । काम गरेर नेपाल फर्किनेको संख्या ६ हजार पुगिसकेको छ ।
कोरियाली कानुनअनुसार विदेशी कामदार चार वर्ष १० महिनाभन्दा बढी बस्न मिल्दैन । बढी अवधि बस्नेलाई कोरियाले अवैध घोषाणा गर्छ ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले आगामी वर्षका लागि कोरियाले कोटा घटाएको जानकारी दिए ।
गत वर्षका जान बाँकी रहेका, कोरियाको अर्थतन्त्रमा मन्दी, काम गरेर फर्किएकाले फेरि जान प्रोत्साहित गरिएकाले नयाँको कोटा घटेको उनको बुझाइ छ ।
कोरिया रोजगारीको आकर्षक गन्तव्य हो । नेपाल सन् २००८ देखि त्यहाँ प्रशिक्षार्थी कामदार लैजान थालेको छ । जानेबित्तिकै नेपाली कामदारले मासिक न्यूनतम एक लाख १२ हजार हाराहारीमा कमाउन सक्छन् ।
आवेदन फाराम भर्न सुरु
सन् २०१७ मा कोरिया काम गर्न जानका लागि बुधबारदेखि आवेदन फाराम खुला भएको छ । पहिलो दिन २१ हजार ६ सय ३२ जनाले आवेदन भरेका छन् । ईपीएस कोरिया शाखाले उपत्यकाबाहिर पाँच र उपत्यकामा पाँच स्थानबाट आवेदन फारम भर्न सकिने व्यवस्था मिलाएको छ ।
आवेदन फाराम वैशाख १८ गतेसम्म बुझाउन पाइनेछ । उपत्यकाबाहिर डडेलधुरा, पोखरा, बुटवल, धरान तथा जनकपुरबाट तथा उपत्यकामा कीर्तिपुरको ल्याबरेटरी स्कुल, भ्याली स्कुल महाराजगन्ज, वेद विद्या श्रम वनकाली, महेन्द्र विद्या श्रम सातदोबाटो र च्यासल खेलमैदान बालकुमारीमा आवेदन फाराम बुझाउन सकिनेछ ।
यसपटक आवेदनमा एमआरपी अनिवार्य गरिएको छ । काठमाडौंमा आवेदन दिन गएका कोही पनि फर्किनु नपरे पनि धरान र पोखरामा भने अधिक भीडका कारण बिहीबार आवेदन दिन पाउने गरी कतिपयलाई फिर्ता गरिएको छ ।















प्रतिक्रिया