– नरेन्द्रसिह कार्की
दार्चुला, १२ वैशाख । लामो समयको खडेरीका कारण अपि हिमालको फेदबाट निस्कने चौलानी नदीको मुहान सुकेको छ । दार्चुलाको सहायक नदीको रुपमा रहेको चौलानी नदीको मुहानमा पानी सुकेको हो ।
पानी भएको मुहानमा अहिले बालुवा सुख्खा ठाउँ भएको छ । केहि साता अघि फ्रान्सेली पर्यटक अपि हिमालको फेदमा पुग्दा पानी सुकेको बारे जानकारी भएको हो । चौलानीको मूहानबाटै ठूलै पानी आउने गथ्र्यो । अहिले पानी नहूँदा आफुहरु नै अचम्मीत परेको अपि नाम्पा संरक्षण क्षेत्रका वनरक्षक शंकरसिह बडालले बताउनुभयो । अपि फेद नजिकै रहेको ठाउँहरुमा पानी नै छैन । हिमालमा समेत हिउँ छैन । अपि हिमालको प्रवेशद्धार पिलकन्द मैदानमा रहेको जोगी ताल सुकेको छ । बर्षौदेखि ठूलो तालको रुपमा रहेको तालमा पानी सुकेको बडालले बताउनुभयो । यस्तै यार्सागुम्बा पाइने क्षेत्र रिङगेताल पनि सुकेको छ । हिमालमा हिउँ छैन, खोलानाला र तालतलैया सुकेका छन् बडालले भन्नुभयो, विदेशीसमेत अचम्मित भएका छन् ।
वर्षौदेखि अपिको फेद भएर चौलानी नदीको उद्गम स्थान हो । मुहानमा मन्दिर बनाएर पूजापाठ हुने गरेको थियो घुसा ७ का स्थानीय अंगतसिह लोथ्यालले भन्नुभयो । अहिलेको खडेरीले पानीको मूहान र तालतलैया सुकेका छन् । अहिलेसम्म चमेलिया नदिको मुहानै सुक्ने गरि खडेरि नपरेको र यो मुहान सुक्नु भनेको नराम्रो घटना भएको लोथ्याल बताउँछन् । घुसा गाविसमा रहेका नदी नालाहरु अधिकांश सुक्दै गएका छन् । पानी नहुँदा पानि घट्ट र लघुजल विद्युत पनि बन्द भएका छन् ।
दार्चुलाको सबै भन्दा उच्च शिखर ७१३२ मिटर उचाईमा रहेको अपि हिमाल वरिपरि नै हिउँ जम्न छोडेपछि स्थानीय चिन्तीत बनेका छन् । किहिल्यै नभएको अनिष्ट हो, घुसा ८ का जेष्ठ नागरिक शालिभानसिह कार्कीले भन्नुभयो, पहिले यार्सागुम्बा संकलनको समयसम्म हिउँ जम्मै हुन्थ्यो तर अहिले आएर हिउँ नै छैन् भन्छन्, यो राम्रो हैन ।
यसबीच घुसाका स्थानीयको आइतबार भएको भेलाले यार्सा संकलनको लागि सामान पुर्याउन बैशाख २२ गतेबाट शुरु गर्ने निर्णय गरेको छ । स्थानीय भने बैशाख २९ सम्म गएर बास बस्ने व्यवस्था गर्ने निर्णय भएको लोथ्यालले बताउनुभयो । स्थानीयले अब अपि हिमाल छेउछाउमा डेरा नबस्ने प्रस्ताव गरेका छन् । हिमाली क्षेत्रमा भएको जंगल फडानी हिमालमै बढि फोहर हुन थालेपछि नदी नाला सुकेको अनुमान गरेका छन् । लामो समयसम्मको खडेरीका कारण पानीको हाहाकार भएको छ ।
















प्रतिक्रिया