– कमलराज भट्ट
काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसका तीन वटा भातृसंगठन नेपाल विद्यार्थी, नेपाल तरुण दल र नेपाल महिला संघले आफ्नो अधिवेशन गर्न नसकेको लामो समय भइसकेको छ ।
यी तीन संगठन कांग्रेसका लागि महत्वपूण मानिन्छन् । तर, यी संगठनले तोकिएको समयमा महाधिवेशन नगरेर असक्षताका साथ नेतृत्वमा रहँदै आएका छन् । कांग्रेसभित्रै ‘असक्षम’ भनेर आलोचना हुँदा समेत यी संगठनका नेतृत्वकर्ता मौन छन् ।
यतिसम्मकी अहिले यी तीन वटै संगठनमा रहेका नेतृत्व फेरि दोहरिन चाहन्छन् । केही नेता भने अहिलेको समिति भङ्ग गरेर ‘टीके’ बन्ने दाउमा पनि छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेका कार्यसमिति भङ्ग गरेर ‘टीके’ बनाउने पक्षमा हुनुहुन्न ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)को अहिलेको ‘टीके’ कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई महाधिवेशनमा उम्मेदवार नबन्ने सर्तमा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले नियुक्ति गर्नुभएको थियो । अहिले आएर यो कार्यसमितिले एकमतले निर्णय गर्दै अबको महाधिवेशनमा उम्मेदवार बन्न पाउँ भनेर सभापति देउवा समक्ष विन्तीपत्र बुझाएको छ ।
नेविसंघ अध्यक्ष रञ्जित कर्ण नेतृत्वको अहिलेको ‘टीके’ कार्यसमितिले पदलोलुपता देखाउँदै उम्मेदवार बन्न पाउनुपर्ने भन्दै विन्तीपत्र देउवा समक्ष पेश गरेको स्रोतको भनाइ छ । ‘नेविसंघको महाधिवेशनमा उम्मेदवार नबन्ने सर्तमा ‘टीके’ अध्यक्ष, पदाधिकारी र सदस्य बन्ने’, नेविसंघका एक नेताले भने, ‘अहिले पदको लोभ गर्दै उम्मेदवार बन्न पाउँ भनेर विन्तीपत्र हाल्न पाइँदैन । यो त दोहोरो चरित्र भयो । नेतामा बोलिको ठेगान हुनुपर्छ ।’
नेविसंघका अध्यक्ष कर्णले अझै पनि महाधिवेशन गराउन सक्दैन भनेर नेताहरूसँग भन्ने गरेका छन् । उनले देउवासँग भेट गरेर यसअघि नै निर्देशक समिति बनाउन माग गरिसकेका छन् । केही नेताहरूले निर्देशक समिति नचाहिने भन्दै विरोध पनि गरिरहेका छन् ।
नेविसंघ, महिला संघ र तरुण दलको महाधिवेशन छिटो गर्ने तयारीमा देउवा लागेका छन् । उनले सोही अनुसार तयारी गर्न निर्देशन दिइसकेका छन् ।
तरुण दलमा उदय शम्शेर राणा अध्यक्षमा दोहरिन चाहेको एक नेताले बताए । तर, राणालाई तरुण दलको अध्यक्ष दिनु हुँदैन भनेर संस्थापन समूह नै सक्रिय भएको छ । राणाकै कारण तरुण दल मृत्युको मुखमा पुगेको आरोप छ ।
महिला संघकी अध्यक्ष डा.डीला संग्रौला पनि अध्यक्षमा दोहरिन चाहेको सन्देश देउवालाई पठाएकी छिन् । डा.संग्रौलाले के बुझेकी छैनन् भने आफ्ना कारण महिला संघ विघठनको संघारमा पुगेको छ ।
तरुण दल र महिला संघभित्र पनि ठीक नेविसंघकै गतिविधि दोहोरिएको छ । उनीहरू पनि नेविसंघको कार्यसमितिले गरेको निर्णय जस्तै गरेका छन् ।
नेविसंघको महाविधेशनमा अध्यक्षका लागि धेरै विद्यर्थी नेताहरूको नाम चर्चामा छ । तर, अन्त्यमा संस्थापनबाट नैनसिंह महर र रामचन्द्र पौडेल समूहबाट मनोजमणि आचार्यको अन्तिम भिडन्त हुनेछ । सोहीअनुसार महर र आचार्यले भित्रभित्रै तयारी थालेका छन् ।
हुन त नेविसंघका केही ‘टोले गन्डा’का नाईके उपमा पाएका संगठनमा कुनै लगानी नभएका नेताहरूले पनि दाबी गरिरहेका छन् । उनीहरूले देउवा समक्ष पुगेर ‘अध्यक्ष पाउँ’ भनेर बुढानीलकण्ठमा रोइकराइ गर्ने गरेको नेविसंघका नेताहरूको आरोप छ ।















प्रतिक्रिया