१ कार्तिक २०८३, आइतबार

डोटीका ६ स्थानलाई मह गाउँ बनाइने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maha Hony– झलक पाली

डोटी, १२ वैशाख । डोटीका विभिन्न ६ वटा स्थानलाई मह गाउँका रुपमा विकास गर्न पहल थालिएको छ ।

बहुसरोकारवाला वन कार्यक्रमको सहयोगमा डोटीको छतिवन गाविसको बुडर र गरुड, लक्ष्मीनगर गाविसको देउथला र शान्तिनगर, बर्र्छैन गाविसको विपिनगर र बर्छैनलाई मह गाउँका रुपमा विकास गर्न पहल थालिएको ग्रामीण विकास केन्द्र नेपाल डोटीका अध्यक्ष दलबहादुर देउवाले बताए ।

अध्यक्ष देउवाका अनुसार ती स्थानमा रहेका २ सय घरपरिवार गरिब, सिमान्तकृत, दलित, जनजातीहरुलाई प्रति घरपरिवार एउटा माहुरी सहितको आधुनिक घार वितरण गरिसकिएको छ ।

यसै गरि माहुरी घार प्राप्त गर्ने घर परिवारलाई आधुनिक माहुरी पालन तालिम, परम्परागत घारबाट आधुनिक घारमा माहुरी सार्ने तरिका बारेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान पनि दिईएको छ ।

माहुरीको चरिचरन, बासस्थानका लागि राम्रो मानिने ती स्थानलाई मह गाउँको रुपमा विकास गर्न बहुसरोकारवाला वन कार्यक्रमका अतिरिक्त अन्य सरकारी तथा गैरसरकारी निकायहरुसँग पनि समन्वय र सहकार्य गरिने सँस्थाका जिल्ला संयोजक शंकर थापाले जानकारी दिए ।

छनौट गरिएका स्थानमा स्थानीय बासिन्दाहरुले परम्परागत तरिकाबाट माहुरी पालन गर्दै आएका र उनिहरुलाई थप सहयोग र आधुनिक ज्ञान सिप दिंदा व्यवसायिक रुपमा माहुरी पालन गर्न उत्प्रेरित भएको ग्रामीण विकास केन्द्र नेपालले जनाएको छ ।

माहुरी सहितको आधुनिक घार दिईएका घरपरिवारलाई समेटेर ६ वटा माहुरीपालक कृषक समूह बनाई जिल्ला कृषि विकास कार्यालय डोटीमा दर्ता गर्ने कार्यक्रम रहेको छ ।

यसैगरि माहुरी पालक कृषकहरुलाई पायक पर्ने गरि २ स्थानमा मह प्रशोधन उद्योग स्थापना गरि आवश्यक उपकरणहरु उपलब्ध गराउने कार्यक्रम रहेको जनाईएको छ ।