१ कार्तिक २०८३, आइतबार

बाँकी तीन गाविस सडक सञ्जालमा जोडिदै, ट्रयाक खोल्न न्युन बजेट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadak-Pachthar (1)

– अंकुश कुँवर
धनगढी, १० बैशाख । सडक सञ्जालसँग जोडिन बाँकी रहेका कैलालीका तीन पहाडी गाविसलाई सडक सञ्जालमा जोड्न चालु आर्थिक वर्षदेखि काम सुरु भएको छ ।

जिल्लाका दुर्गम तथा पहाडी क्षेत्रमा रहेका सुगरखाल, मोहन्याल र पण्डौनलाई सडक सञ्जालसंग जोड्न जिल्ला विकास समिति कैलाली मार्फत सडकको ट्रयाक खोल्ने काम सुरु भएको हो । स्थानीय विकास मन्त्रालयले सडक सञ्जालसँग नजोडिएका गाविसलाई सडक सञ्जालसँग जोडने रणनीति बनाएअनुसार कैलालीका पनि बाँकी तीन गाविसमा सडकको ट्रयाक खोल्ने काम थालनी भएको जिल्ला विकास समिति योजना शाखाका नासु गुनसिंह चौधरीले बताउनुभयो । ती तीनै गाविसहरुमा अहिले ट्र्याक खोल्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

सरकारले सडक सञ्जालसँग जोडिन बाँकी रहेका गाविसमा ट्र्याक खोल्ने योजना बनाएपनि निकै कम मात्रामा बजेट छुट्याएको छ । एउटै गाविसलाई सडक सञ्जालमा जोड्नका लागि सडकको ट्रयाक खोल्न करोडौ रकम लाग्ने ठाउँमा तीन गाविसलाई यस वर्ष करिब ७० लाख रुपैयाँ मात्रै छुट्याएको छ । ‘एकै गाविसको सडकको ट्«याक खोल्न मात्रै करोडौ रुपैयाँ लाग्छ’ नासु गुनसिंह चौधरीले भन्नुभयो ‘तीन गाविसका लागि पहिलो वर्ष छुट्याएको ७० लाख बजेट निकै न्युन छ ।’ ट्रयाक खोल्नका लागि प्रत्येक वर्ष बजेट निकासा हुने भएपनि यहि मात्रामा आउने बजेटले गाविस सडक सञ्जालमा जोडिन ढिलाई हुने उहाँले बताउनुभयो ।

यी गाविसहरुमध्ये खैराला गाविसलाई सडक सञ्जालमा जोड्नका लागि चौमाला पुतली सेलौना खैराला सडकका लागि ३० लाख, राजीपुर बालुवागडा खनियाताल, मोहन्यालका लागि २० लाख र सितलपुर सिमली पण्डौन सडक, पण्डौनका लागि २० लाख रुपैयाँ छुट्याइएको छ । सडकको ट्र्याक खोल्ने काम उपभोक्ता समितिहरु मार्फत भइरहेको जिल्ला विकास समितिका योजना शाखाका नासु चौधरीले बताउनुभयो । यसमा पण्डौनमा सडकको ट्र्याक खोल्ने काम केही अगाडि बढेको भएपनि अन्य दुई खैराला र मोहन्यालमा सडकको काम केही ढिलो भइको उहाँले जानकारी दिनुभयो । उहाँले यीं दुई गाविसको पहाडी क्षेत्रमा चट्टानका कारण ट्रयाक खन्ने काम अप्ठेरो भएको जानकारी दिनुभयो । उहाँले स्थानीयले नै काम पाउने गरि उपभोक्ताहरु मार्फत नै थोरै बजेटमा प्रत्येक वर्ष बजेट पर्ने गरि काम गर्ने सरकारको योजना रहेको बताउनुभयो । यद्यपी, उहाँले यसरी गरिने कामले चाँडो गति लिन नसक्ने बताउनुभयो ।

जिविसका कार्यक्रम संयोजक योगेन्द्र ओझाले केही सीमित मात्रामा आउने बजेटले वर्षमा केही अंश मात्रै सडकको ट्«याक खोल्ने काम हुने बताउनुभयो । उहाँले करोडौं लाग्ने सडकमा केन्द्रबाट नै ठेक्का हुनु आवश्यक रहेको बताउनुभयो ।

यस्तै, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम अन्तर्गत जिल्लाका अन्य सडकहरुको पनि स्तरोन्नती भइरहेको छ । यसअन्तर्गत राजीपुर बालुवागडा खनियाताल सडक मोहन्याल, बसौटी, हसुलिया, पवेरा र रतनपुर जोड्ने लोहापुर कुकुरभुक्का मनाउ सडकपुर रतनपुर सडक, बडिखर्क पण्डौनको सितलपुर सिमली पण्डोनखण्डको सडक ग्राभेल हुने क्रममा रहेको योजनाशाखाका नासु चौधरीले बताउनुभयो । त्यस्तै उहाँले जोशीपुर सडकखण्ड अन्तर्गत कनरी खरेटी जौलीसिमर कोरदा खैलाड सडक, दगौली, मनुवा र नारायणपुर जोड्ने दुर्गौली कालाकुण्ड सडक, गोदावरी र सहजपुर जोड्ने कोल्मुडा नायल फल्टुडे सडक र निगाली खैराला जोड्ने निगाली खैराला सडक पनि स्तरोन्नती भइरहेको जानकारी दिनुभयो । यी सडकहरुको स्तरोन्नतीका लागि यस वर्ष एक करोड २० लाख रुपैयाँ छुट्याइएको जिविसले जनाएको छ । सातवटा सडकको मर्मत तथा स्तरोन्नतीका लागि यस परिमाणमा छुट्याइएको सडक पनि निकै न्युन हो ।

यी सडकहरुमध्ये बसौटी, हसुलिया, पवेरा र रतनपुर जोड्ने लोहारपुर कुकुरभुक्का मनाउ सडकपुर रतनपुर सडक र बडीखर्क पण्डौन अन्तर्गतको सितलपुर सिमली पण्डौन सडक स्तरोन्नतीका लागि जनसहभागिता संस्थाहरुले पनि आर्थिक योगदान पु¥याएका छन् ।