काठमाडौं, ८ वैशाख । ग्लोबल आइएमई बैंकले बुधबारदेखि भारतमा सम्पर्क प्रतिनिधि कार्यालयको सुरुवात गरेको छ ।
भारतको नयाँ दिल्लीस्थित सम्पर्क कार्यालयको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल तथा भारतीय रिजर्व बैंकका जेनेरल म्यानेजर केबि पण्डितले संयुक्त रुपमा उद्घाटन गरे ।
सम्पर्क कार्यालय उद्घाटन गर्दे नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेल तथा भारतीय रिजर्व बैंकका जेनेरल म्यानेजर पण्डितले ग्लोबल आइएमई बैंकले भारतमा सम्पर्क कार्यालय खोल्न सफल भएकोमा बधाई दिदै सफलताको कामना गरे ।
सोही कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सम्पर्क कार्यालयमार्फत भारत र नेपालका बीचमा आयात निर्यात ब्यापार-विप्रेशण तथा बैदेशिक लगानी प्रबर्द्धनमा सहयोग पुग्ने बिश्वास गरे ।
अन्तर्राष्ट्रियस्तरमा अष्ट्रेलिया र भारतगरी दुई देशमा सम्पर्क कार्यालय खोल्ने ग्लोबल आईएमई बैंक नेपालको पहिलो बाणिज्य बैक भएको छ । बैंकले भारतमा सम्पर्क कार्यालय खोलेर हासिल गरेको नयां उपलब्धिले नेपालको आर्थिक बिकासमा सहयोग पुर्याउने अध्यक्ष ढकालले बताए ।
नेपालबाट भारतमा स्वास्थोपचारका लागि हुने भुक्तानीमा हाल बिद्यमान रहेको असहज अवश्था समाधानका लागि पनि बैंकले आवश्यक पहल सुरु गरिसकेको उनले जानकारी दिए ।
यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले नेपालको अन्तर्राष्ट्रिय ब्यापारको प्रमुख ब्यापारिक साझेदार पनी भारत रहेको सन्दर्भमा यो कार्यालयको उपस्थितीबाट आयात निर्यात ब्यापार प्रबर्द्धनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । साथै रोजगारीको सिलसिलामा समेत भारतमा नेपालीहरुको उल्लेख्य उपस्थिती रहेबाट औपचारिक माध्यमबाट बिप्रेशण आप्रवाह बढाउनमा यो सम्पर्क कार्यालयले सहजकर्ताको भुमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गरे ।
कार्यालय शुभारम्भको अवसरमा दिल्लीस्थित कुटनीतिक नियोगका प्रतिनिधि, पत्रकार र अन्य पाहुनाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

















प्रतिक्रिया