काठमाडौं, ८ वैशाख । काठमाडौं महानगरपालिकाले कुकर व्यवस्थापनको काम शुरु गरेको छ । महानगरपालिकाले सिंहदरबार पुनर्निमाण समितिको सचिवालय, ह्युमन सोसाइटी इन्टरनेसनल र द जान गुडल इन्स्टिच्युटको सहयोगमा कुकुरको व्यवस्थापन सुरु गरेको हो ।
त्यसका लागि महानगरपालिकाले बुधबारबाट मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र कुकुरको व्यवस्थापनको काम सुरु गरेको हो । पशुपंक्षी विकासमन्त्री शान्ता मानवीले सिंहदरबारमा एक समारोहबीच कुकुर व्यवस्थापन कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
सिंहदरबारलाई कुकुरमुक्त क्षेत्र बनाउने लक्ष्यसहित सुरु गरिएको व्यवस्थापन अभियान अन्तर्गत पहिलो चरणमा सिंहदरबारभित्रका २१ वटा भाले र ३५ वटा पोथी कुकुरमा बन्ध्याकरण गरिएको महानगरपालिकाले जनाएको छ ।
काठमाडौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सिंहदरबारबाट सुरु गरिएको अभियान महानगरपालिकाभर विस्तार गरिने बताउनुभयो ।
काठमाडौं महानगरपालिका क्षेत्रमा व्यक्तिले पालेकाबाहेक २१ हजार कुकुर रहेको अनुमान महानगरपालिकाको छ ।
काठमाडौं महानगरपालिकाले तीन वर्षभित्र महानगरपालिका क्षेत्रभित्र रहेका कुकुरमध्ये ८० प्रतिशतमा रेविज विरुद्धको खोप लगाउने र सबै पोथी कुकुरमा बन्ध्याकरण गर्ने जनाएको छ । पशुपंक्षी विकास मन्त्री मानवीले कुकुरको व्यवस्थापनका लागि पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।












प्रतिक्रिया