
काठमाडौं, ७ बैशाख । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल सरकार मन्त्रीपरिषद्को २०७२ चैत २६ गतेको निर्णय अनुसार पदोन्नती भएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा दर्ज्यानी चिन्ह शुसोभन गर्नुभयो ।
दर्ज्यानी चिन्हबाट सुशोभित हुने अधिकृतहरु २०७१ साल साउन २९ गतेदेखि लागू हुने गरी प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएको हो । दर्ज्यानी चिन्हबाट सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरुमा यादव अधिकारी, पर्शुराम खत्री, विश्वराज सिंह शाही र सुशीलबरसिंह थापा रहनुभएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी महानिरीक्षक अर्यालले पदोन्ती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै संगठनको गरिमा उचो हुने किसिमबाट रचनात्मक काम गर्नुपर्ने बताउनुभयो ।
मुलुक संविधान कार्यान्वयनको बाटोमा रहेको यस घडीमा थुप्रै किसिमका सुरक्षा चुनौती आउने हुँदा सबै किसिमका चुनौतीहरुको डटेर मुकाविला गर्न संगठन तयार रहनुपर्ने कुरा उहाँले बताउनुभयो ।
समारोहमा दर्ज्यानी चिन्हबाट सुशोभित हुने अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीले कानुनी मुद्धा कानुनी रुपमा समाधान भएको चर्चा गर्दै राष्ट्र, संगठन र नागरिकको हितमा काम गर्ने उल्लेख गर्नुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया