काठमाडौं, ७ वैशाख । पर्याप्त जमिन र अन्य भौतिक पूर्वाधार हुँदाहुँदै पनि नगद अभाव झेलिरहेको नेसनल ट्रेडिङ लिमिटेडले पूँजीको जोहो गर्न नसक्दा बर्सेनि १० करोड रुपैयाँ ऋण थपिरहेको छ ।
सर्वसाधारणलाई उपभोग्य सामानको आपूर्ति गर्ने तथा बजारमा व्यापारीको मनोपली नहोस् भनेर २०१८ सालमा स्थापना गरिएको नेसनल ट्रेडिङले केही वर्षयता रकम अभावकै कारण नियमित कामसमेत गर्न छाडेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।
नेसनल ट्रेडिङका कर्मचारीका अनुसार २०६५ सालअघि राजनीतिक दल र उनीहरुले जथाभावी भर्ना गरेका कार्यकर्ताले धर्मराएको कम्पनी केही वर्षयता अर्थ मन्त्रालयको असहयोगका कारण थला परेको छ ।
नेसनल ट्रेडिङले पूँजी अभाव भएपछि केही वर्षदेखि पटक पटक जमिन बेचेर कारोबार गर्न खोजे पनि अर्थ मन्त्रालयले सहयोग नगर्दा कुनै काम गर्न नपाएको जनाएको छ ।
म्हाप्रबन्धक सत्यनारायण मेहता भिजन २०–२० योजना बनाएर एकपटक आपूर्ति र अर्थ मन्त्रालयमा रणनीतिक योजना पेस गरेपनि त्यसबारे निर्णय हुन नसक्दा नयाँ सोच र योजनाका साथ काम गर्न नसकेको बताउँछन् ।
हाल नेसनल ट्रेडिङसँग देशभर १२ कार्यालय, गोदाम र प्रशस्त जमिन छ ।















प्रतिक्रिया