काठमाडौँ, ३ वैशाख । आन्दोलनरत मधेसी दललाई अविलम्ब वार्तामा आउन र संविधान कार्यान्वयनको पक्षमा सबै राजनीतिक शक्ति एक हुन आह्वान गर्दै गत छदिनदेखि जारी नेकपा (एमाले)को केन्द्रीय समितिको छैटौँ बैठक आज सकिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमाथि आएका सुझाव समेटेर सर्वसम्मतिले सो प्रस्ताव पारित गरेको छ ।
बैठकले समसामयिक १९ वटा प्रस्ताव पनि पारित गरेको छ । पार्टीले संविधान बमोजिम प्रादेशिक संरचनामा जाने सैद्धान्तिक निर्णय गरेको प्रचार विभागका प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
केन्द्रीय कमिटीको छैटौं बैठकबाट पारित प्रस्तावहरू:
१. नेपाली जनताको लामो बलिदानी सङ्घर्षको फलस्वरूप जननिर्वाचित संविधानसभाबाट जारी नेपालको संविधानले राष्ट्रिय आकाङ्क्षा र जनअधिकारहरूलाई ऐतिहासिक रूपमा संस्थागत गरेको छ । संविधानको प्रभावकारी कार्यान्वयनद्वारा नै जनताको समृद्धि र राष्ट्रको प्रगतिलाई सुनिश्चित गर्न सकिन्छ भन्ने नेकपा (एमाले) केन्द्रीय कमिटीको ठहर छ । यो बैठक संविधान निर्माणमा जस्तै यसको कार्यान्वयनमा पनि एकतावद्ध भई सक्रिय योगदान पु¥याउन सम्पूर्ण राजनीतिक दल, प्रगतिशील, लोकतान्त्रिक र देशभक्त शक्तिहरू एवम् आम जनसमुदायमा हार्दिक आह्वान गर्दछ ।
२. संविधानको कार्यान्वयनसँगै अब मुलुक शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्ने चरणमा प्रवेश गरेको छ । कुनै पनि राजनीतिक मतभेद वा समस्या वार्ता र छलफलका माध्यमबाट समाधान गर्न सकिने संवैधानिक र राजनीतिक आधार निर्माण भएको छ । संविधान जारी भइसकेपछि तराई–मधेसमा उत्पन्न असहज अवस्था, नेपालले सामना गर्नुपरेको अघोषित नाकाबन्दी र त्यस क्रममा देश र जनताले भोग्नुपरेको पीडा एवम् क्षतिलाई मनन गर्दै आन्दोलनको बाटो छाडेर वार्ता र संवादकामार्फत् शान्ति र समझदारीको प्रक्रियामा सहभागी हुन यो बैठक ‘संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा’ लगायत लगायत सम्बद्ध सबैमा हार्दिक आग्रह गर्दछ ।
३. नेपालले स्वतन्त्र, सार्वभौम र स्वाधीन राष्ट्रको हैसियतबाट संयुक्त राष्ट्र सङ्घको बडापत्र र पञ्चशीलका सिद्धान्तका आधारमा छिमेकी लगायत सबै मित्र राष्ट्रहरूसँग स्वतन्त्र परराष्ट्र नीतिका आधारमा सुमधुर सम्बन्ध कायम गर्दै आएको छ । सार्वभौम संविधानसभाद्वारा नेपालको संविधान जारी भएपछि विभिन्न बहानामा गरिएको अवरोध नेपाली जनताको चाहना र आकाङ्क्षामाथिको प्रहार थियो । अझ विनाशकारी भूकम्पबाट देशले गंभीर सङ्कट झेलिरहेको बेला नेपाल विरुद्ध अघोषित नाकाबन्दी लगाइनु भूपरिवेष्ठित राष्ट्रका हैसियतले नेपालले उपभोग गर्न पाउनुपर्ने निर्वाध पारवहन हक र अन्तर्राष्ट्रिय सम्बन्धका मान्य सिद्धान्त र प्रचलन विरुद्धको कार्य थियो । यस सन्दर्भमा पार्टी स्थायी कमिटी र नेपाल सरकारले राखेको अडानको यो बैठक पूर्ण समर्थन गर्दछ ।
नाकाबन्दीको वेलामा त्यसलाई सामना गर्नु नेपाली जनताले देखाएका साहस, धैर्य तथा विश्वभरि रहेका गैरआवासीय नेपाली र प्रवासी नेपाली मञ्चहरूले गरेका ऐक्यवद्धताको यो बैठक उच्च प्रशंसा गर्दछ । सङ्कटको घडीमा हामीलाई सद्भाव, समर्थन र ऐक्यवद्धता प्रकट गर्ने सबै मित्र राष्ट्रहरू, अन्तर्राष्ट्रिय समुदाय, राजनीतिक दल तथा सांसदहरूलाई धन्यवाद ज्ञापन गर्दछ ।
४. राष्ट्रिय राजनीतिक परिस्थिति जटिल रहेको र नेपालले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने बिषयमा समेत अनेकौ कोणबाट अवरोध भइरहेको स्थितिमा गठित संयुक्त सरकारले राष्ट्रिय हित, स्वतन्त्रता र सामाजिक सद्भाव कायम राख्दै परिस्थितिलाई सामान्य तुलाउन खेलिरहेको भूमिकाको समर्थन गर्दै यसमा पार्टीको पूर्ण साथ समर्थन रहने कुरा स्पष्ट गर्दछ । यसै सन्दर्भमा भारत र युरोपियन युनियनबाट हालै जारी संयुक्त वक्तव्यमा उल्लेखित नेपाल सम्बन्धी प्रसङ्ग नेपालको आन्तरिक मामलामा दखल हो भन्ने निष्कर्षकासाथ यस सम्बन्धमा नेपाल सरकारको दृष्टिकोणलाई बैठक पूर्ण समर्थन गर्दछ ।
५. देश र जनताले राजनीतिक स्थायित्वकासाथ तीव्र आर्थिक विकास र समृद्धिको चाहना राखिरहेको सन्दर्भमा संयुक्त सरकारलाई जनभावना अनुरूप प्रभावकारी ढङ्गले अगाडि बढाउन र सबै पक्षलाई सहकार्य र सहमतिको मार्गमा अग्रसर हुन यो बैठक हार्दिक आह्वान गर्दछ । साथै लामो समयदेखि हुन नसकेको स्थानीय निकाय निर्वाचनका लागि तत्काल मिति तोक्न सरकारको ध्यानाकर्षण गर्दै उक्त निर्वाचनका लागि तत्पर हुन यो बैठक सम्बन्धित सबै राजनीतिक दलहरूलाई हार्दिक आह्वान गर्दछ ।
६. यो बैठक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न मित्र राष्ट्र भारत र चीनको भ्रमण ऐतिहासिक र सफल रहेको निष्कर्षकासाथ हार्दिक स्वागत गर्दछ । भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा केही समय अघि उत्पन्न असहज स्थितिलाई सहज बनाउन महत्वपूर्ण योगदान गरेको छ । चीन भ्रमण र त्यस क्रममा भएका पारवहन यातायात सम्झौता लगायत सहमतिहरूले नेपालको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पु¥याएको बैठकको निष्कर्ष रहेको छ ।
७. यो बैठक राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, प्रादेशिक अखण्डता, राष्ट्रिय स्वाभीमान र राष्ट्रिय हितको संरक्षणलाई केन्द्रबिन्दुमा राखेर तथा सार्वभौम समानता तथा पारस्परिक लाभका आधारमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई समयानुकुल र थप व्यवस्थित बनाउन प्रभावकारी कुटनीतिक पहलका लागि सरकारको ध्यानाकर्षण गर्दछ ।
८. प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा भएका रेलमार्गको विस्तृत सर्वेक्षण र डिजाइन, अरनिको राजमार्गको स्तरोन्नति, किमाथाङ्का–धनकुटा सडक, रसुवागढी–गल्छी सडक, पेट्रोलियम पदार्थको अन्वेषण र आपूर्ति, इन्धन भण्डारण र अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माण गर्ने लगायत सम्झौता र समझदारीलाई कार्यान्वयन गर्न नेपालको तर्फबाट गर्नु पर्ने तयारीका काम तत्काल अगाडि बढाउन यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ । त्यसरी नै, भारत भ्रमणका क्रममा भएका सम्झौता र समझदारीको प्रभावकारी कार्यान्वयनका लागि पनि सरकारको ध्यानाकर्षण गर्दछ ।
९. केही समय अघि भएको तराई–मधेस ‘आन्दोलन’ का क्रममा कैलालीको टीकापुर लगायत विभिन्न स्थानमा भएको हिंसात्मक घटनामा परी कतिपय व्यक्तिले ज्यान गुमाउनु परेको, कतिपय घाइते र अङ्गभङ्ग भएको तथा तोडफोड र आगजनीबाट व्यक्तिगत र सार्वजनिक सम्पत्तिको ठूलो क्षति भएकोप्रति यो बैठक चिन्ता र दुःख प्रकट गर्दछ । पीडित एवं शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । मृतकका परिवारजनलाई राहत र घाइतेहरूको उपचारको यथासंभव छिटो प्रबन्ध गर्न तथा राजनीतिक प्रकृतिका मुद्दाहरू फिर्ता गर्न सरकारको ध्यानाकर्षण गर्दछ । आन्दोलनका नाममा अन्य दलहरूका सभासम्मेलनमा वाधा व्यवधान पु¥याउने, सांसद तथा नेताहरूलाई जिल्ला प्रवेशमा रोक लगाउने, आफूसँग असहमत दलका कार्यालय तोडफोड, आगजनी र कार्यकर्तामाथि आक्रमण गर्ने जस्ता निषेधकारी व्यवहार तथा कत्र्तव्य पालनाका सिलसिलामा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण गरी वातावरणलाई उत्तेजित बनाउने जस्ता अराजक क्रियाकलाप बन्द गर्न सम्बद्ध सबैसँग आग्रह गर्दछ ।
१०. विनाशकारी भूकम्पको एक बर्ष बित्न लाग्दा पनि पीडित जनताको पुनस्र्थापना र ध्वस्त संरचनाको पुनर्निर्माणको काम तीव्रताकासाथ अगाडि बढ्न नसकिरहेकोप्रति यो बैठक चिन्ता व्यक्त गर्दछ । पीडित जनतालाई यथाशीघ्र पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणको कामलाई प्रभावकारी, दू्रत र परिणाममुखी बनाउन सरकारसँग यो बैठक माग गर्दछ ।
११. देशका विभिन्न भागमा भएको आगलागी तथा डढेलोको कारण अमूल्य वनसम्पदा तथा व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति नष्ट भइरहेको छ । आगलागीबाट पीडितहरूलाई राहत दिन तथा पर्यावरण असन्तुलन, वायु प्रदूषण तथा खडेरी, डढेलो तथा सुख्खाजस्ता प्राकृतिक समस्याका नकारात्मक प्रभावहरू न्यून गर्ने उपायको खोजी गर्न तथा प्रभावित जनतालाई संरक्षण गर्न यो बैठक सरकारसँग आग्रह गर्दछ ।
१२. नेपालको संविधान घोषणाको ६ महिना बितीसक्दा पनि व्यवस्थापिका–संसदबाट हालसम्म पनि नयाँ नियमावली निर्माण हुन नसकी संविधान कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण बिषय प्रभावित भइरहेकोतर्फ बैठकको गंभीर ध्यानाकर्षण भएको छ । बैठक नेपाली काङ्ग्रेस लगायत संसदमा क्रियाशील सबै दलहरूलाई यसतर्फ गंभीर हुन र अविलम्ब नियमावलीलाई अन्तिम रूप दिन आग्रह गर्दछ ।
१३. नेपालको संविधानको व्यवस्था, पार्टी विधानको प्रावधान र घोषणापत्रमा व्यक्त प्रतिवद्धता पूरा गर्न पार्टीका हरेक कमिटीमा न्यूनतम एक तिहाई महिला सहभागिताको सुनिश्चितता, स्थानीय निकायमा पार्टीका तर्फबाट ५० प्रतिशतसम्म महिला सहभागिताको प्रत्याभूति र प्रमुख उपप्रमुखमध्ये एकजना महिला पदाधिकारीको सुनिश्चितताका लागि व्यवस्थित तयारी गर्न सिङ्गो पार्टी पङ्क्तिलाई यो बैठक आह्वान गर्दछ । यसका लागि योजनावद्ध ढङ्गले महिला पार्टी सदस्यता विस्तार र नेतृत्व विकासका लागि प्रशिक्षण र तालिमलाई अगाडि बढाउन र महाधिवेशनबाट पारित तथा पार्टी नियमावलीमा उल्लेखित महिला हिंसा विरुद्धको आचारसंहितालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न पनि पार्टीका सबै कमिटीहरूलाई आह्वान गदर्छ ।
१४. यो बैठक नाकाबन्दी र मधेस आन्दोलन साम्य भइसकेको लामो समय व्यतीत भइसक्दा पनि पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको वितरण सहज हुन नसकेको र कृत्रिम अभाव तथा मूल्यवृद्धि नियन्त्रण हुन नसकेकोेप्रति गंभीर चासो व्यक्त गर्दछ । बैठक कालाबजारियाहरूलाई कडाइका साथ कार्बाही गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न अझ प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछ ।
१५. हाम्रो काँधमा आएका ऐतिहासिक कार्यभारहरूलाई पूरा गर्न सिङ्गो पार्टी पङ्क्तिलाई अझ एकताबद्ध भएर अगाड बढ्न र स्थानीय निर्वाचनको तयारीमा जुट्न यो बैठक सबै कमरेडहरूलाई हार्दिक आह्वान गर्दछ ।
१६. यो बैठक हालै ब्रसेल्स र इस्लामावाद लगायत विश्वका विभिन्न स्थानहरूमा भएको आतङ्ककारी आक्रमणको भ्रत्र्सना गर्दछ ।
१७. नेपाली काङ्ग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गतः माघमा भएको असामयिक निधनप्रति गहिरो दुःख र श्रद्धाञ्जली व्यक्त गर्दै यो बैठक नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँको सकारात्मक योगदानको सम्मानपूर्वक स्मरण गर्दछ ।
१८. यो बैठक गतः पुष महिनामा अपराधीहरूबाट कायरतापूर्वक हत्या गरिनुभएका सर्लाही जिल्ला कमिटी सदस्य कमरेड रामनरेश यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । त्यसरी नै, गतः कार्तिक महिनामा निधन हुनुभएका पूर्व नवलपरासी जिल्ला सचिव एवं निवर्तमान जिविस सभापति कमरेड ईश्वरीप्रसाद पाण्डे, फागुन महिनामा निधन हुनुभएका पूर्व सांसद सोहन चौधरी, चैत महिनामा निधन हुनुभएका नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय नेता एवं भेरी अञ्चल समन्वय कमिटीमा पूर्व सदस्य कमरेड भद्रबहादुर सुनार, मुक्ति समाजका उपत्यका नेता अर्जुन मङ्ग्रातीप्रति बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
१९. यो बैठक म्याग्दी तथा कालिकोटमा भएको हवाई दुर्घटनामा परी जीवन गुमाउनु हुने चालक दल तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । हालै खोटाङ तथा डोटीमा भएको सवारी दुर्घटनामा परी इतिहास अन्वेषक जयराज पन्त लगायत धेरै यात्रुहरूको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै उहाँहरूप्रति श्रद्धाञ्जली एवम् घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।













प्रतिक्रिया