काठमाडौं, १ वैशाख । भारतीय नाकाबन्दीका बेला चीन सरकारले उपलव्ध गराएको इन्डक्सन चुलो एक थान मात्र बिक्री भएको छ ।
चीनले नेपाललाई केरुङ नाका हुँदै चार महिना अघि १३ सय थान र साढे तीन महिना अघि हवाई मार्ग हुँदै १० हजार थान इन्डक्सन चुलो उपलव्ध गराएको थियो । नागरिक दैनिकले समाचार छापेको छ ।
भारतीय नाकाबन्दीले इन्धन अभाव भएपछि सर्वसाधारणको चुलो बल्न छाडेको बेला चीन सरकारले उपलव्ध गराएको इन्डक्सनमध्ये १३ सय थान नेशनल ट्रेडिङका अधिकारी गत मंसिर २७ गते केरुङ नाका पुगेर बुझेका थिए ।
गत पुस १४ गते पुनः चीनले हवार्इ मार्गबाट १० हजार थान चुलो पठाएको थियो । दोस्रोपटक पठाएको चुलो जिम्मा लिने निकाय नहुँदा त्रिभुवन विमास्थलमा अलपत्र छन् ।
बिक्रीको जिम्मा लिएको नेसनल ट्रेडिङका पदाधिकारीले चुलो बिक्री गर्न सक्दो प्रयास गरे पनि कुनै उपलब्धि हात नलागको बताए ।
नाकाबन्दीको सुरुवाती चरणमा बजारमा इन्डक्सनको चर्को माग भएपनि चिनियाँ चुलो बिक्री नहुनुमा महंगो मूल्य कायम गरिनुलार्इ लिइएको छ ।
नेश्नल ट्रेडिङका महाप्रवन्धक सत्यनारायण मेहताले मूल्य निर्धारण समितिले निकै बढी मूल्य तोकेका कारण बिक्री नभएको बताए ।
मूल्य निर्धारण समितिले चिनियाँ इन्डक्सनको प्रतिथान मूल्य ११ हजार नौ सय ९६ रुपैयाँ मूल्य तोकेको थियो । चुलो भने अहिलेसम्म एक थान मात्र विकेको छ ।















प्रतिक्रिया