
काठमाडौं, ३० चैत । पीडा नै पीडामा वितेको वर्ष २०७२ सालले दुःख विदाइ गरेको छ ।
वर्षको सुरुमै विनाशकारी भूकम्प, त्यसपछि भारतको नाकाबन्दी खेपेका नेपालीहरुले वर्षको अन्तिम दिनमा दुःखद खबर सुन्नुपरेको छ ।
दिक्तेलबाट यात्रु बोकेर काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस आज बिहान अर्खौलेको बर्खेटारमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको खबरले तीन करोड नेपालीलाई स्तब्ध नै बनाएको छ ।
नयाँ वर्षको उत्साहमा रहेका नेपालीहरु यो घटनापछि शोकमा डुबेका हुन् । दुर्घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दुःख व्यक्त गरेका छन् ।
बा२ख ६३७६ नंको यात्रुबाहक बस साँघुरो बाटो रहेको बर्खेटारमा बिहान साढे ८ बजे सडकबाट करिब ५०० मि तल नदेखिने ठाउँमा खसेर दुर्घटनामा परेको थियो । बसमा सुरुमा २८ यात्रु भएकामा बीच बाटामा थपिएकाहरु समेत गरी करिब ७० जना थिए ।
सशस्त्र प्रहरी र स्थानीयवासीले ३१ जना घाइतेको उद्धार गरी हलेसी स्वास्थ्य चौकीमा पुर्याएका छन् । अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।
घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब चार घन्टा पैदलयात्राको दूरीमा रहेको छ । उक्त ठाउँमा यसअघि पनि पटक पटक दुर्घटना हुने गरेको थियो ।
दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छैन । यो घटनाका अत्यन्त दुःखद एवं हृदयविदारक तस्वीरहरु पनि सार्वजनिक भएका छन् ।
हेर्नुस् मन रुवाउने तस्वीरहरुः
फोटोः बाबु विजयबाट ।






















प्रतिक्रिया