२५ कार्तिक २०८३, बुधबार

एमाओवादीका पूर्वसांसद बालकृष्ण ढुंगेलमाथि अर्को हत्याको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bal-Krishna-Dhungelकाठमाडौं, २९ चैत । पुनरावेदन अदालत जनकपुरले एकीकृत माओवादीका पूर्वसभासद बालकृष्ण ढुंगेलले हत्या गरेका उज्जन श्रेष्ठका दाई गणेश श्रेष्ठको हत्या मुद्दामा चार महिनाभित्र अनुसन्धान गरी आरोपपत्र दायर गर्न आदेश दिएको छ ।

पुनरावेदन अदालतका न्यायाधीशहरु शेषराज शिवाकोटी र रमेशकुमार थापाको इजलासले द्वन्द्वकालको वा अभियुक्त नभेटिएको भनी अनुसन्धान कार्य नरोक्नसमेत जिल्ला प्रहरी कार्यालय रामेछापलाई आदेश दिएको हो । गणेशको हत्या गर्ने समयमा ढुंगेल उक्त स्थानमा नभए पनि उनको निर्देशनमा हत्या गरेको किटानी जाहेरीमा उल्लेख छ ।

सर्वोच्च अदालतबाट यसअघि सर्वस्वसहित जन्मकैदको सजाय ठहर भई हाल फरार रहेका एकीकृत माओवादीका पूर्वसभासद ढुंगेलको नाम मुछिएको यो दोस्रो मुद्दा शुरु हुन लागेको हो । यसअघि उज्जन श्रेष्ठको हत्या प्रकरणमा ढुंगेललाई जन्मकैदको फैसला कार्यान्वयन गर्न सर्वोच्चले आदेश दिइसकेको छ ।

प्रहरीमा हत्याको किटानी जाहेरी दिएको भन्दै हत्या गरिएका गणेशका छोरा विजयले दायर गरेको रिटमा पुनरावेदन अदालतले आदेश दिँदै चार महिनाभित्र कर्तव्य ज्यान मुद्दा दायर गर्न भनेको हो । यसअघि पुनरावेदन अदालतले २०७२ साल वैशाख ८ गते ६ महिनाभित्र अनुसन्धान गरी मुद्दा दायर गर्न परमादेश जारी गरेको थियो । गणेशका छोरा विजयले बाबुको हत्या बालकृष्ण ढुंगेलको निर्देशनमा माओवादीका कार्यकर्ताहरु रक्तिम लामा, मोहन खड्का, टीका सुनारलगायत ६ जनाले गरेको जिकीरसहित किटानी जाहेरी गरेका छन् ।

गत वैशाखमा पुनरावेदन अदालतका न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मेघराज भट्टराईको संयुक्त इजलासले हत्या जस्तो मुद्दामा अनुसन्धान रोक्न नमिल्ने भन्दै ६ महिनाभित्र यसको टुंगो लगाउन परमादेश जारी गरेको थियो ।