काठमाडौं, २९ चैत । सर्वाेच्च अदालतको प्रधानन्यायाधीश सिफारिसमा आफ्नो कुनै असन्तुष्टि नरहेको सभामुख ओनसरी घर्तीले स्पष्ट पारेकी छिन् ।
आइतबार साँझ बसेको संवैधानिक परिषदको बैठकले सर्वाेच्चकी वरिष्ठ न्यायाधीश सुशीला कार्कीको नाम प्रधानन्यायधीशमा सिफारिस गरेको थियो ।
विरामी भएर अस्पतालमा उपचाररत सभामुख घर्तीले ‘कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गरिएकामा घर्ती असन्तुष्ट’ रहेको समाचार आएपछि त्यसको खण्डन गर्दै नेपालको इतिहासमै पहिलोपटक महिला प्रधानन्यायाधीश हुनु गौरवको विषय भएको र त्यसमा आफ्नो पूर्ण समर्थन रहेको बताएकी हुन् ।
आफ्नो निजी सचिवालयबाट समाचारको खण्डन गर्दै घर्तीले इतिहासमै पहिलोपटक न्यायालयको उच्च पदमा महिला पुग्न लागेको ऐतिहासिक क्षणमा आफू सहभागी हुन नपाएकामा चित्त पनि दुखाएकी छिन् ।
सभामुख विरामी भएर अस्पताल भर्ना हुँदा आइतबार विहानको बैठक प्रभावित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालै पुगेर उनको सहमति लिएका थिए ।
हालका प्रधानन्यायाधीश कल्याण श्रेष्ठले वैशाख १ गतेबाट उमेर हदका कारण अवकाश पाउने भएपछि अस्पतालबाटै सभामुखको स्वीकृति लिएर संवैधानिक परिषदले वरिष्ठ न्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो ।
यता सभामुख घर्तीका स्वकीय सचिव निशान मगरले कार्की प्रधानन्यायाधीश सिफारिसमा सभामुखको कुनै असन्तुष्टि नरहेको र त्यस्ता समाचारमा सत्यता नभएको बताए ।
मगरका अनुसार समेरु अस्पतालमा उपचाररत सभामुख घर्तीले प्रधानन्यायाधीश नियुक्ति सिफारिसलाई विवादित नबनाउन सबैमा आग्रह समेत गरेकी छिन् ।













प्रतिक्रिया