२५ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओली र बिजुक्छेबीच भेटवार्ता, पीडितलाई काखा-पाखा नगर्न सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Oli & Bijukchya Photo-29

भक्तपुर, २९ चैत । प्रधानमान्त्री केपी शर्मा ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच आज भेटवार्ता भएको छ ।

कमलविनायकस्थित बिजुक्छे निवासमा भएको भेटवार्तामा भूकम्पपीडितलाई छिटो राहत पुग्ने गरी पुनः निर्माणको काम सुरु हुनुपर्ने बारेमा छलफल भएको थियो । करिब आधा घन्टा भएको भेटवार्तापछि बिजुक्छेले यसबारे प्रतिक्रिया दिँदै भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्ने माग गरेको बताउनुभयो ।

एउटै घरमा चार दाजुभाइ भिन्नै बसेको र भूकम्पले घर भत्काएर सबैलाई घरविहीन बनायो तर एकजनाले मात्रै राहत पाउने अरूले नपाउने व्यवस्था हुँदा पीडितलाई न्याय नहुने भन्दै उहाँले स्थानीय निकायलाई यसको जिम्मा दिए सहज व्यवस्थापन गर्न सकिने बताउनुभयो । “पुनः निर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्छ, तब मात्र वास्तविक पीडितले सहज राहत पाउँछन्”, बिजुक्छेले भन्नुभयो-“घर र जग्गा नहुने पीडितलाई स्थानीय निकायले जग्गा खोजेर व्यवस्थापन गर्न सक्छ, त्यसैले प्रधानमन्त्रीसँग पुनः निर्माणको जिम्मा स्थानीय निकायलाई दिनुपर्छ भनेर भनेका छौं ।”

प्रधानमन्त्री ओलीले प्राधिकरणसँग छलफल गरेर यसबारेमा निर्णय लिने आश्वासन दिएको बिजुक्छेले जानकारी दिनुभयो । लालपुर्जा नभएकालाई पनि राहत दिने व्यवस्था हुनुपर्ने उहाँको धारणा थियो । भेटमा प्रधानमन्त्री ओली र उहाँकी पत्नी राधिका शाक्य, नेमकिपाका अध्यक्ष बिजुक्छे, उहाँकी पत्नी शोभा र नेमकिपाका विदेश विभाग प्रमुख प्रेम सुवालको उपस्थिति थियो । रासस