मोगादिसु, २९ चैत । सोमालियामा कैयौँ पत्रकारको हत्या गर्ने हत्यारालाई मृत्युदण्ड दिइएको खबर छ । हत्यारालाई सोमबार मृत्युदण्ड दिइएको हो ।
सोमालियाको आतङ्ककारी समूह सेबाबको निर्देशनमा ती व्यक्तिले सोमालियामा कैयौँ पत्रकारको हत्या गरेका थिए । उनले सो हत्या स्वीकार गरेका थिए ।
हसन हानाफी नाम गरेका ती व्यक्तिले सोमालियमा कम्तीमा पनि पाँचजना पत्रकारको हत्या गरेको स्वीकार गरेका छन् । सैनिक अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
सोमबार बिहान उनलाई राजधानी मोगादिसुमा रहेको प्रहरी प्रतिष्ठानमा मृत्युदण्ड दिइएको बताइएको छ । सोमबार बिहान ती व्यक्तिलाई प्रहरी प्रतिष्ठानमा मृत्युदण्ड दिइएको जानकारी प्रहरीले दिएको छ ।
उनलाई मृत्युदण्ड दिएको घटनाको मोगादिसुका कैयौँ पत्रकारले हेरेका थिए । प्रहरीले गोली हानेर उनलाई मृत्युदण्ड दिएका थिए ।
सोमालियाली सैनिक अदालतका एकजना वरिष्ठ अधिकारी अब्दुल्लाही हुसेनले भने–“हसानी विगत लामो समयदेखि नै सोमालियामा कैयौँ पत्रकारको हत्यामा संलग्न भएको र उसले स्वीकार पनि गरेकोले मृत्युदण्ड दिइएको छ ।
हसनलाई सन् २०१४ को अगस्त महिनामा केन्यामा पक्राउ गरिएको थियो । त्यसपछि उनलाई सोमालियामा सुपुर्दगी गरिएको थियो ।
उनको मुद्दा सोमालियाको सैनिक अदालतले हेरेको थियो । गत महिना मात्र उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । तर बाँकी कानुनी प्रक्रियाका लागि राखिएको र सबै प्रक्रिया पूरा गरेपछि उनलाई सोमबार बिहान प्रहरीले नै पत्रकारको रोहबरमा मृत्युदण्डको सजाय दिइएको थियो ।
पत्रकारहरुका लागि सोमालिया एक अत्यन्तै खतरा देश हो । त्यहाँ बर्सेनि ठूलो सङ्ख्यामा पत्रकार मारिने गर्छन् । कतिपय पत्रकारको हत्या त्यहाँका राजनीतिक समूहले सत्तास्वार्थका कारण गर्ने गर्छन् भने कतिलाई त्यहाँ आतङ्क मच्चाइरहेको अल सेबाब समूहले पनि गर्ने गरेको छ । रासस/एएफपी
















प्रतिक्रिया