– सुदीप निउरे
क्वालालम्पुर, २८ चैत । मलेसियामा दुई जना नेपालीलाई साढे ६ बर्षको कैद सजायँ सुनाइएको छ ।
हत्या आरोपमा लामो समयदेखि प्रहरी हिरासत रहेका मन बहादुर बिष्ट र बुद्धि बहादुर थापालाई त्यहाँको अदालतले सजायँ सुनाइएको हो । पहल सिंह कामी (पासपोर्ट नम्बरः ०५९९१७८४) नाम गरेका नेपालीको हत्या गरेको आरोपमा उनीहरुमाथि मुद्धा चल्दै आएको थियो । उनीहरु दुबै जना २ बर्ष ६ महिना अघिदेखि प्रहरी हिरासतमा रहंदै आएका थिए ।
मलाया उच्च अदालत पाहाङ तेमेरलोहले शुक्रबार अन्तिम फैसला गर्दै बिष्ट र थापा मिलेर कामीको हत्या गरेको पुष्टी गर्दै सार्बजनिक अपराध बमोजिम उनीहरुमाथि कैद सजायँ सुनाएको हो ।
हत्यामा संलग्न भनिएका दुबै जना र मृतक कामीको नेपालस्थित स्थाई ठेगाना भने खुलाईएको छैन् । साढे ६ बर्षको जेल सजायँ सुनाइएका उनीहरु साढे २ बर्ष अघिदेखि प्रहरी हिरासतमा रहंदै आएकाले अब ४ बर्षपछि मुक्त हुने जनाइएको छ ।
कामीको शव सन २०१३ डिसेम्बर २९ मा कामपुंग् राजा क्यामरुन हाईल्याण्डको स्टबेरी केन्द्रमा भेटिएको थियो । कामी हिलिरान विन कम्पनीको कामदार भएको खुलाइए पनि उनीहरु संगै काम गर्ने साथी भएको-नभएको बारेमा केहि खुलाइएको छैन । एक आपसमा झगडा भएको बेला दुइजना मिलेर हत्या गरेको देखिन आएको उच्च अदालत पाहाङले जनाएको छ ।
मलेसियाको दंड संहिताको धारा ३ सय २ अन्र्तगत हत्याको सजायँस्वरुप फांसी तथा हत्याको प्रकृति हेरी ३० बर्षको कैद सजायँ हुने व्यवस्था छ । हत्यामा संलग्न भएका दुबै जनाले आफ्नो गल्ती स्वीकार गर्दै क्षमा याचना गरेपछि अदालतले कैदको समयमा कटौती गरी १० बर्षमा झारेको बताइएको छ ।
१० बर्षको कैद सजायमा थप एक तिहाई कैद सजाय छुट पाएपछि उनीहरुले साढे ६ बर्षको कैद सजायँ काट्नैपर्ने भएको हो । उनीहरुको मुद्धा टुङगिन् साढे २ बर्ष लागेपछि अब बिष्ट र थापा ४ बर्षपछि कैद मुक्त हुनेछन् ।













प्रतिक्रिया