८ कार्तिक २०८३, आइतबार

‘म प्रधानमन्त्री भएपछि तपाईं पार्टी अध्यक्ष पक्का’ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev Gautam

काठमाडौं । केपी ओली नेकपा एमालेको अध्यक्ष निर्वाचित भएपछि त्यस काममा निर्णायक भूमिका निर्वाह गरेका उपाध्यक्ष वामदेव गौतमको भाउ बढ्ने नै भयो। त्यतिबेला कुनै काम बोकेर आफूकहाँ आउने कार्यकर्तालाई उनी हाकाहाकी भन्थे– ‘दुई–चार दिन पर्खनूस् न। म पार्टी अध्यक्ष भएपछि यो काम गरौंला।’ गौतमले बिनाकारण त्यसो भनेका थिएनन्। चुनावअघि गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा निकटका दुबै पक्षका १५ जना नेता राखेर ओलीले सम्झौता गरेका थिए–‘म प्रधानमन्त्री भएपछि तपाईं पार्टी अध्यक्ष पक्का।’

अहिले तिनै गौतम भन्न थालेका छन्– ओली धोकेवाज रहेछन्। ओली प्रधानमन्त्री भएपछि गौतमलाई उनले न कार्यबाहक अध्यक्ष दिए न त संसदीय दलको नेता नै छाडे। एकपटक संसदीय दलको नेताका बारेमा कुरा हुँदा ओलीले उल्टै जवाफ दिए– ‘मैले छाडे पनि तपाईंलाई माधव नेपालले हुन दिंदैनन्। उनी यसपटक आफैं चुनाव लड्ने तयारीमा छन्।’ हान्निएर कोटेश्वर पुगेका गौतमलाई नेपालले कसैसंग नसोधेरै भनिदिए– ‘केपीलाई राजीनामा गर्न लगाउनूस्, तपाईंलाई म निर्विरोध दलको नेता बनाइदिन्छु।’ गौतमले खेल बुझे र चुप लागे।

उपाध्यक्ष गौतमकै कारण एमालेमा अध्यक्ष ओली बहुमतमा छन्। गौतमले साथ नदिने हो भने उनी स्थायी समिति, पोलिट्ब्युरो, केन्द्रीय कमिटी र संसदीय दल कतै पनि बहुमतमा पुग्दैनन्। २०७२ चैत १६ गते वालुवटामार आयोजित स्थायी समितिको बैठकमा देखा परेको एउटा दृश्यबाट ओली पक्ष अहिले आएर झस्किएको छ। संगठनमा विभागका लागि भन्दै महासचिव ईश्वर पोखरेलमार्फत ल्याइएका नाममा नेपाल पक्षले गम्भीर आपत्ति जनाएपछि लामो विवाद भयो। आजको साँघु साप्ताहिकमा खबर छ।