काठमाडौँ, २८ चैत । पूर्वराष्ट्रपति डा रामवरण यादवले मुुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सरकार संयमित तथा आन्दोलनरत मधेसी मोर्चा लोकतान्त्रिक पद्धतिबाट प्रस्तुत हुन आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली सेनाका पूर्वप्रधानसेनापति छत्रमान गुरुङको आत्मकथामा आधारित कृति ‘जनताको छोरो’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले भन्नुभयो, “लोकतन्त्रको बाटो र विधिबाट हिँडेर संसद्बाटै समस्याको समाधान खोज्न आन्दोलनरत दलहरुलाई म आह्वान गर्दछु ।”
‘म राष्ट्रअध्यक्ष नभएको भए, सेनाको संगठन ध्वस्त हुन्थ्यो । त्यस बेला १० वर्ष हतियार बोकेको माओवादीलाई लोकतान्त्रिक बाटोमा ल्याइएको थियो । त्यसबेला दुई सेना थिए । त्यसपछि विद्रोह गरेरै आएका पार्टीका नेता प्रधानमन्त्री प्रचण्ड र रक्षामन्त्री थिए, मैले त्यस बेलामा सही निर्णय गरें । अहिले पनि त्यस बेलाको निर्णय सही थियो भन्ने लाग्छ । माओवादी बाहेक सम्पूर्णले मेरो निर्णयलाई समर्थन गरे पनि ।’
आफ्नो घरभित्रको समस्या समाधान नगर्ने अनि अरुलाई दोष दिने काम गर्नु हुँदैन भन्दै पूर्वराष्ट्रपति यादवले मुलुकको प्राकृतिक स्रोत साधन र सम्पदाको दोहन र नोक्सानी हुँदा कुनै राजनीतिक दल नबोलेको भनी चिन्ता व्यक्त गर्नुभयो ।
“मुलुकमा गणतन्त्र र लोकतन्त्र आएको छ, कानुनी शासनको जति नै रटान दिएपनि राज्यका संयन्त्रलाई प्रजातान्त्रिक ढङ्गबाट अघि बढाउन राजनीतिक दलको ध्यान पुगेको छैन, सङ्घसंस्था धरासायी बनाउने काम भइरहेको छ”-पूर्वराष्ट्रपति यादवले भन्नुभयो ।
नेपाली सेना जहिले पनि लोकतन्त्रको पक्षमा उभिएको चर्चा गर्दै उहाँले सेनाको छविलाई धुमिल गर्ने प्रयासलाई रोकेर आफूले सङ्गठनलाई बचाए पनि न्यायालय र अरु सुरक्षा सङ्गठनमा भने राजनीतिक हस्तक्षेपका कारण क्षतविक्षत् भएको गुनासो गर्नुभयो ।
पूर्वराष्ट्रपति यादवले पूर्वप्रधानसेनापति रूक्मांगद कटवाललाई तत्कालित पुष्पकमल दाहाललको सरकारले बर्खास्त नगर्ने निर्णयलाई आफूले साथ नदिएर सेनाको संगठन ध्वस्त हुनबाट बचाएको बताउनुभयो ।
‘म राष्ट्रअध्यक्ष नभएको भए, सेनाको संगठन ध्वस्त हुन्थ्यो,’ पूर्वराष्ट्रपति यादवले भन्नुभयो- ‘त्यस बेला १० वर्ष हतियार बोकेको माओवादीलाई लोकतान्त्रिक बाटोमा ल्याइएको थियो । त्यसबेला दुई सेना थिए । त्यसपछि विद्रोह गरेरै आएका पार्टीका नेता प्रधानमन्त्री (पुष्पकमल दाहाल) र रक्षामन्त्री (रामबहादुर थापा) थिए, मैले त्यस बेलामा सही निर्णय गरें । अहिले पनि त्यस बेलाको निर्णय सही थियो भन्ने लाग्छ । माओवादी बाहेक सम्पूर्णले मेरो निर्णयलाई समर्थन गरे पनि ।’
२०६६ साल वैशाख २० मा दाहाल नेतृत्वको सरकारको मन्त्रिपरिषदको बैठकले तत्कालिन प्रधानसेनापति रूक्मांगद कटवाललाई बर्खात गर्ने निर्णय गरेको थियो । यादवले आफूले राष्ट्रध्यक्ष भएर थिच्न र मिच्न खोजेको भन्ने आरोप लाग्ने गरेको उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘मैले ७ वर्ष तीन महिना भाग्यले त्यो पदमा रहँदा मुलुकका सबै दललाई संयोजन गर्ने काम गरे ।’
नेपालको सेनाले जहिले पनि लोकतान्त्रिक आन्दोलनमा साथ दिएको उहाँको भनाई छ ।
राष्ट्र र राष्ट्रियतालाई केन्दबिन्दुमा राखेर आफूले काम गरेको बताउँदै पूर्वराष्ट्रपति यादवले राजनीतिभन्दा माथि उठेर राष्ट्रलाई ध्यान दिएर प्रमुख तीन दल र मधेसी मोर्चाको सहमतिमा आई समस्याको निकास खोज्ने भूमिका निर्वाह गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिनुभयो ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपाली सेना लोकतन्त्रको बाधकका रुपमा कहिल्यै नउभिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेना सत्ता हातमा लिने धारणाबाट कहिल्यै चलेन, जहिले पनि लोकतन्त्रप्रति सद्भाव राखेको पाउँछु ।”
पुस्तकमाथि समीक्षा गर्दै प्रा लोकराज बरालले ठेट शब्दको प्रयोग र सरल भाषामा लेखिएको जनताको छोरो पुस्तकको अध्ययनबाट सेनापति गुरुङले नेतृत्व गर्नुभएको समयमा नेपाली सेनाको सङ्गठन सुदृढीकरण र विकासका बारेमा विस्तृतरुपमा जानकारी आर्जन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
लेखक गुरुङले २०६६ भदौ २४ देखि २०६९ भदौ २४ गतेसम्म नेपाली सेनाको महारथीको जिम्मेवारी सम्हालेका बखत नेपाली सेनासँग सम्बन्धित रहेभएका निर्णय, विकास र विस्तारका विषयवस्तु पुस्तकमा समेटिएको जानकारी दिनुभयो ।
पूर्वप्रधानसेनापतिकी धर्मपत्नी कमला गुरुङ प्रकाशक रहनुभएको सो पुस्तकको मुल्य रु ५०० राखिएको छ । प्रकाशक गुरुङले जनताको छोरो प्रधानसेनापति आफ्नो पदीय जिम्मेवारी र अनुभवको दस्तावेजका रुपमा रहेको छ, भन्नुभयो ।
तीन सय ७८ पृष्ठ रहेको उक्त पुस्तकमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीचको विवाद, नेपालमा अनमिन, माओवादी लडाकुको समायोजन, लडाकु, हतियार र शिविर नेपाली सेनाको मातहतमा आएको प्रसङ्ग, आफ्नो तीनवर्षे कार्यकालको उपलब्धि, विदेश भ्रमण तथा पुलिमराङदेखि शशि भवनसम्मका विषयवस्तुलाई आत्मकथाको रुपमा प्रस्तुत गरिएको छ । रासस














प्रतिक्रिया