काठमाडौं, २८ चैत । एमाले केन्द्रीय कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखिएकोमा सदस्यहरूले आपत्ति जनाएका छन् । शनिबार बैठक सुरु हुनासाथ केही सदस्यले पार्टीको झन्डा र ब्यानरविनै प्रधानमन्त्री निवासमा बैठक डाकिएको भन्दै आपत्ति जनाएका थिए ।
नेपालपक्षीय केन्द्रीय सदस्यहरू ठाकुर गैरे, टंक कार्की, रामकुमारी झाँक्री, पर्शुराम मेघी गुरुङ, लक्ष्मण पौडेललगायतले प्रधानमन्त्रीनिवासलाई पार्टी कार्यालय बनाएर नियमित बैठक बोलाएकोमा आपत्ति जनाएका हुन् ।
उनीहरूले यसबाट जनतामा गलत सन्देश जाने र गलत संस्कृतिले प्रश्रय पाउने भन्दै पार्टी कार्यालय धुम्बाराहीमै बैठक बस्नुपर्ने माग पनि गरे ।
उनीहरूको आपत्तिपछि आइतबारको अधिकांश समूहको समूहगत छलफल पार्टी कार्यालय धुम्बाराहीमै हुने भएको छ। नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
स्रोतका अनुसार केन्द्रीय सदस्य गैरेले अध्यक्ष ओलीको मन्तव्य सकिनेबित्तिकै सरकारी निवासमा पार्टीको लोगो, झन्डा र ब्यानरविनै कम्युनिस्ट पार्टीको बैठक डाकिएको भन्दै आपत्ति जनाए ।
‘सरकारी निवासमा राष्ट्रिय झन्डा मात्रै हुने, जुन पार्टी हो त्यो पार्टीको झन्डा र ब्यानरविनै बैठक बस्ने, यो कस्तो चलन हो ? यसरी नै बैठक अघि बढाउने हो भने मेरो आपत्ति छ’, गैरेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
उनको आपत्तिपछि महासचिव ईश्वर पोखरेलले गल्ती भएकाले अर्को दिन झन्डाको व्यवस्थापन गरिने भन्दै आश्वस्त तुल्याएका थिए ।
नेपालपक्षीय नेताहरूले एजेन्डा पनि व्यवस्थित ढंगले नआएको भन्दै आलोचना गरेका थिए ।















प्रतिक्रिया