– विकाश पराजुली
बुटवल, २५ चैत । बुटवलमा जारी प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ को फाईनलमा विभागिय टिम त्रिभुवन आर्मी र घरेलु टिम सुनौलो संगम युवा क्लव रुपन्देही भिड्ने भएका छन् ।
यी दुई टिम चैत २७ गते बुटवल १२ स्थित मानवज्ञान उच्च माविको खेल मैदानमा उपाधिका लागि भिड्नेछन् । विहीबार भएको सेमिफईनलमा नवज्योति युवा क्लव सिमरालाई ४–० ले हराउँदै त्रिभुवन आर्मी फाईनलमा प्रवेश गरेको हो । सुनौलो संगम युवा क्लव भने विभागिय टिम एपिएफलाई सेमिफाईनलमा ४–२ ले हराउँदै फाईनलको यात्रा तय गरेको थियो ।
विहीबार भएको खेलमा त्रिभुवन आर्मीका लागि खेलको पाँचौ मिनेटमा फुव्रा तामाङले गोल गर्दै टिमको खाता खोले । त्रिभुवन आर्मीकै लागि अर्को गोल खेलको २० औं मिनेटमा पदम तामाङले गोल गर्दै पहिलो हाफमा टिमलाई २–० को अग्रता दिलाए ।
दोस्रो हाफमा पनि लयमा फर्किएको त्रिभुवन आर्मीलाई नवज्यातिले दवावमा राख्न सकेन । दोस्रो हाफको ३७ औं मिनेटमा फुव्रा तामाङले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यस लगत्तै राजिव गुरुङले एक गोल गर्दै टिमलाई ४-० को गोल अन्तरले जित दिलाए ।
मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा जारी प्रतियोगिता चैत २७ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टिमले नगद ३ लाख ३ हजार ३ सय १३ तथा उपविजेता हुने टिमले नगद १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ठ खेलाडिले नगद ७ हजार ७ सय ७७ सहति कप तथा मेडल प्राप्त गर्ने कमिटिका अध्यक्ष मेधराज भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट गोलकिपर, मिटफिल्डर, रक्षक, सर्वा्धिक गोलकर्ता तथा उत्कृष्ठ प्रशिक्षकलाई नगद ५÷५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
















प्रतिक्रिया