बिही (गोरखा), २२ चैत । उज्यालोका लागि सल्लाको खोटो बाल्दै आएका उत्तरी गोरखाको बिही गाविस–९ ड्याङवासीले अब खोटोको सट्टा सोलार बत्ती बाल्न सुरु गरेका छन् ।
दुर्गम गाउँका उनीहरुले विद्युत् त परै जाओस्, टुकी बाल्न पनि पाएका थिएनन् । उज्यालोको एक मात्र विकल्प सल्लाको खोटो बाल्नुपर्ने बाध्यता थियो ।
दिनहुँ सल्लाको खोटो झिक्न गाउँले जङ्गल चर्हाथे । सग्ला, अग्ला सल्लाका रुख खोज्दै खोटो सङ्कलन गर्दा बस्ती नजिकका जङ्गल उडाज भइसकेको थियो । खोटो मात्र होइन, सल्लाको हाँगा काँचैमा बल्ने भएकाले जङ्गल फँडानी बढेको हो । जङ्गल फँडानी भएकोबारे यत्रतत्र प्रश्न उठे पनि उज्यालोको अर्को विकल्प कसैले दिएका थिएनन् ।
भूकम्पपछि राहत सामग्रीको ओइरो लाग्यो । सडक मार्गको पहुँच पुगेका सुगम क्षेत्रका बासिन्दाले एकपछि अर्को राहत सामग्री हात पारे । ढुवानीको समस्या देखाएर सरकार, दातृ निकाय र गैरसरकारी सङ्घसंस्थाले खाद्यान्नलगायत राहत सामग्री उत्तरी भेगमा पु¥याएनन् । पहिरोले गर्दा मनास्लु पदमार्ग अवरुद्ध रहँदा ढुवानीको एकमात्र साधन हेलिकोप्टरको रहेको छ ।
ड्याङका ४० वटा टहरोमा बस्दै आएका भूकम्प प्रभावितले गत शनिबार सोलार बत्ती हात पारेका हुन् । ‘पुनःनिर्माणका लागि सञ्चार’ संस्थाको स्थानीय संयोजनमा जर्मनीका परोपकारी संस्था एकेटिओन क्लिनिअर प्रिन्ज र किन्डरहिलाइफ नेपाल नामक संस्थाले एक,एक थान सोलार प्रणाली र आर्थिक सहयोग गरेपछि स्थानीयवासी खुसी भएका छन् ।
ड्याङवासीले यसअघि अस्थायी आवास प्रयोजनका लागि रु १५ हजार र न्यानो कपडा खरिदका लागि रु १० हजार पाएका थिए । सो रकम खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री खरिद गर्दैमा सकिएको स्थानीयवासी छिरिङ लामाले बताउनुभयो । “सरकारले दिएको पैसा नुन, चामल किनेर सकियो” उहाँले भन्नुभयो । सोलार बत्ती बाल्न पाएपछि घर उज्यालो भएको उहाँले बताउनुभयो । “अब खोटो खोज्दै वन जानुपर्दैन । दुःखका दिन गए” अर्का भूकम्पपीडित दोर्जे लामाले भन्नुभयो । स्थानीय बिही युवा क्लबका अध्यक्ष नवीन गुरुङका अनुसार गाउँमा विद्युत् सुविधा पुगेको छैन । गाउँले शिक्षित नहुँदा सरसफाइका क्षेत्रमा पनि समस्या छ ।
पुनःनिर्माणका लागि सञ्चार (मेडार) का अध्यक्ष किशोरजङ्ग थापाका अनुसार ४० घरधुरीका घरमुलीलाई जनही रु पाँच हजार नगद र पाँच हजार ५०० मूल्य बराबरको सोलार सिष्टम वितरण गरिएको हो ।
विद्यालय पुनःनिर्माणलाई रु १३ लाख जुट्यो
गोरखाको सौरपानीका १२ वटा विद्यालय पुनःनिर्माण गर्न रु १३ लाख सहयोग जुटेको छ । सौरपानी–६ स्थायी घर भई हाल बेलायतमा बस्दै आएका विष्णुबहादुर गुरुङले हिमालय उमाविलाई रु चार लाख २५ हजार, सिद्धार्थ मावि र दुर्गा माविलाई एक÷एक लाख तथा अन्य नौ वटा प्राविलाई रु ७५ हजारका दरले सहयोग गरेका हुन् ।
त्यस्तै सूर्यज्योति उमावि ताकुकोट र माइकोट माविलाई रु १६ हजार ५०० का दरले सहयोग गरेका छन् । सो रकम सङ्कलनमा हाल बेलायतमा रहेका सौरपानी–३ का रुद्रप्रसाद ढकालले पहल गर्नुभएको थियो ।
आगामी दिनमा बेलायतका सांसदलाई सौरपानी क्षेत्र अवलोकन गराउने र विकास, निर्माणका लागि सहयोग सङ्कलन गर्ने विद्यालयका प्राधानाध्यापक ठाकुरप्रसाद पनेरुले बताउनुभयो । रासस













प्रतिक्रिया