– दीपक ओली
धनगढी, १८ चैत । स्थान: कैलाली बहुमुखी क्याम्पस, धनगढी । क्याम्पस प्रांगणमा बनाइएको मञ्चमा सुदूरपश्चिमका क्षेत्रीय प्रशासक, सुदूरपश्चिम प्रहरी प्रमुख, क्याम्पस प्रमुख, जिल्ला प्रहरी प्रमुखसहितका अधिकारीहरू बसिरहेका छन् । मञ्च तल ठूलो संख्यामा विद्यार्थी शान्तपूर्वक बसिरहेका छन् ।
कार्यक्रममा औपचारिकतापछि जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले माइक समाते– ‘भाई बहिनीहरू हो, प्रहरी तपाईको दुश्मन होईन, साथी हो । प्रहरी एक्लैले समाजमा शान्तिसुव्यवस्था कायम गर्न सक्दैन, आउनुहोस्, तपाईंहामी एकजुट भएर शान्तिसुव्यवस्था कायम गर्न लागौं । उनले उद्घोष गरे– समाजमा हुने कुनै पनि प्रकारका हिंसा, अपराध तथा उछुंखल गतिविधि रोक्न प्रहरी र नागरिक मित्र बनेर हिड्नुपर्छ ।
प्रसंग प्रहरी-नागरिक हातेमालो शान्तिदूत कार्यक्रमको थियो । जिल्ला प्रहरी कार्यालयले गत पुसदेखि ‘युएनडीपी’को आर्थिक सहयोगमा कैलालीमा यो कार्यक्रम सञ्चालन गरेको छ । र, कार्यक्रमको मुख्य लक्ष्य रहेको छ- किशोर अवस्थाका युवाहरूलाई दुव्र्यसन, कुलत लगायतका अपराधजन्य क्रियाकलापबाट टाढा राख्ने ।
यसै शिलशिलामा बुधबार कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको थियो । र, कार्यक्रममा सहभागी थिए–क्षेत्रीय प्रशासक मुकुन्दराजप्रसाद शर्मा, सुदूरपश्चिम प्रहरी नायव महानिरीक्षक विजयकुमार भट्ट, कैलाली वहुमुखी क्याम्पस प्रमुख प्राध्यापक सुरेन्द्र चन्द, जिल्ला प्रहरी प्रमुख बिष्ट र ठूलो संख्यामा विद्यार्थीहरू ।

प्रहरी उपरीक्षक बिष्टको प्रशिक्षण शैलीको धाराप्रवाह जारी रहयो । ‘कैलालीमा पनि लागूपदार्थ दुव्र्यसन, साईबर अपराध, ट्राफिक नियम उल्लंघन, चोरी लगायतका अपाराधिक घटनामा किशोर अवस्थाका युवाहरू नै बढी संलग्न रहेको पाइएको छ । यसले परिवार तथा समाजमा तनाव र अशान्ति सिर्जना गरिहेको छ । प्रहरी उपरीक्षक बिष्टले विद्यार्थीहरूलाई आह्वान गरे- तपाईंहरू कोही पनि यस्ता कार्यमा कहिल्यै संलग्न नहुनुहोस्, र कहीकतै यस्ता गतिविधि भएको थाहा पाउनु भयो भने नजिकको प्रहरी चौकीमा जानकारी पठाउनुहोस् ।
प्रहरी उपरीक्षक बिष्टले ट्राफिक नियम उलंघन गर्नेहरूमा पनि युवाको संख्या नै अधिक रहने गरेको स्मरण गराए । भने– सवारी साधन चलाउदा साथमा लाईसेन्स, ब्ल्युबुक अनिवार्य राख्नुहोस् र ट्राफिक नियम कडाईका साथ पालना गर्नुहोस् । ट्राफिक नियम उलंघन गरेका कारण नै बढीजसो सवारी दुर्घटना हुने गरेकोप्रति गम्भीर हुन पनि उनले आग्रह गरे ।
अहिले मोवाइल फोन तथा फेसबुक जस्ता सामाजिक सञ्जाल युवा वर्गको प्रमुख आकर्षण बनेको छ । तर, यी माध्यमको प्रयोग गरेर उछृंखल तथा अपराधिक गतिविधि बृद्धि भइरहेकोप्रति पनि युवाहरूले सचेत रहन उनको आग्रह थियो ।
आफ्नो लामो प्रवचन प्रशिक्षणमा प्रहरी उपरीक्षक बिष्टले प्रहरी र नागरिकबीचको सम्बन्धको ब्याख्या गरे । भने- ‘मान्छेको जन्मदेखि मृत्युसम्म प्रहरीको आवश्यकता पर्छ, त्यसैले समाजमा अपराधिक क्रियाकलाप रोकथाम गर्न पनि प्रहरी र नागरिक एकजुट बन्नु पर्दछ । तपाईको घरमा झैझगडा भयो अथवा कसैले धम्की दियो वा कसैले तपाईमाथि दुव्र्यवहार ग¥यो भने हामीलाई सम्झिनुस् । उनले थपे– नजिकै आंगजनी भयो वा विपत आइलाग्यो भने तुरुन्त प्रहरीलाई खबर गर्नु तपाईको दायित्व हो ।
सो अवसरमा सुदूरपश्चिम प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजी) विजयकुमार भट्टले कैलालीमा सञ्चालन गरिएको प्रहरी–नागरिक हातेमालो शान्तिदूत कार्यक्रमले किशोर समुहका विद्यार्थीहरूलाई प्रहरीको साथी बनाउन मद्दत मिलेको चर्चा गर्नूभयो । ‘विद्यालयमा पुगेर प्रहरीले किशोर विद्यार्थीलाई मित्र बनाउने अभियान सञ्चालन गरेको छ’ डिआइजी भट्टले भने- यसले सामाजिक अपराध न्युनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
कार्यक्रममा लागूऔषध, महिला हिंसा, घरेलु हिंसा, ट्राफिक नियम लगायतका विषयमा जानकारी गराइएको थियो । कैलालीको धनगढी, टिकापुर, भजनी, बौनिया लगायतका स्थानका विभिन्न कलेजमा प्रहरी–नागरिक हातेमालो शान्तिदूत कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख चन्दले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । भने– यस्ता कार्यक्रमले देश र समाजका कर्णधार युवालाई कुलत र गलत बाटोमा हिड्नबाट रोक्न प्रभावकारी भूमिका निर्वाह गर्ने छ ।
अभियानअन्तर्गत कैलाली जिल्लाका विभिन्न उच्च माध्यमिक विद्यालय र क्याम्पसका विद्यार्थीहरूलाई छानेर, शान्तिदूत बनाईएको छ । शान्तिदूतहरूले विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीमाझ सामाजिक अपराधका विषयमा जानकारी गराइरहेका छन् ।













प्रतिक्रिया