१६ कार्तिक २०८३, सोमबार

गोदावरी फूल प्रदर्शनीको चौथो दिनसम्म ९९ लाख बढीको कारोबार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा जारी १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको चौथो दिनसम्म ९९ लाख बढीको कारोबार भएको छ ।

कात्तिक १२ गतेबाट सुरु भएको यो मेलाको चौथो दिनसम्म ३१ हजार बढीले अवलोकन गरेका थिए भने ९९ लाख ९० हजार रुपैयाँको कारोबार भएको हो ।

प्रदर्शनीको प्रारम्भिक दिन अपेक्षाभन्दा राम्रो कारोबार भए पनि मौसममा आएको प्रतिकूलताका कारण शुक्रबार र शनिबार भएको अविरल वर्षाले प्रदर्शनी प्रभावित भएको थियो ।

लगातारको वर्षाका कारण मेला स्थल बन्द गर्नुपर्ने अवस्था सिर्जना भएपछि पुष्पप्रेमी तथा ग्राहकहरूले प्रदर्शनीको अवलोकन गर्न र फूल तथा पुष्पजन्य सामग्रीको खरिद–बिक्रीमा सहभागी हुन असुविधा भोग्नुपरेको थियो ।

अवलोकनकर्ताहरु र व्यवसायीहरुको अनुरोधमा मेला अवधि दुई दिन थप गरी कात्तिक १८ गते सम्म थप गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

आज मेलाको पाँचौँ दिन नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले पनि मेला अवलोकन गर्नुका साथै विभिन्न प्रकारका फूल बिरुवाहरु खरिद गरेकी थिइन् ।

प्रदर्शनीको अवधि थप भएसँगै अब इच्छुक सर्वसाधारणलाई कात्तिक १८ गते बुधबारसम्म जावलाखेलस्थित प्रदर्शनी स्थलमा पुगेर विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य सामग्रीको अवलोकन र खरिद गर्न आयोजकले अनुरोध गरेको छ ।