१ कार्तिक २०८३, आइतबार

तातोपानी साना जलविद्युत् आयोजना बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hydropowerबाबियाचौर (म्याग्दी), १६ चैत । म्याग्दीको नारच्याङको घरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजनामा चार दिनदेखि विद्युत् उत्पादन बन्द भएको छ ।

दुई मेगावाट क्षमताको आयोजनाको बाँध लेदोले पुरिएको र सुरुङभित्र लेदो थुप्रिएकाले विद्युत् उत्पादन बन्द भएको हो । नारच्याङको भित्रीवनमा एक महिनाअघि गएको पहिरोले घलेम्दी खोला थुनिएर बनेको तलाउ खुलेर शुक्रबार साँझ आएको लेदोसहितको बाढीले आयोजनाको बाँध र सुरुङ पुरिएको छ ।

काठ, गेगर र बालुवासहितको बाक्लो लेदोले बाँध पुरिएको र सुरुङभित्र पनि पसेकाले विद्युत् उत्पादन ठप्प भएको आयोजनाका कर्मचारी खिमबहादुर पुनले जानकारी दिनुभयो । आयोजनाका प्रमुखसहितको टोली आज बाँध क्षेत्रको निरीक्षणमा गएको छ । बाँध र सुरुङमा थुप्रिएको लेदो नहटाउँदासम्म विद्युत् उत्पादन बन्द हुने पुनले बताउनुभयो ।

विसं २०४६ मा निर्माण भएको म्याग्दीको एकमात्र उक्त विद्युत्गृहका टर्वाइन, जेनेरेटरलगायतका उपकरण मर्मत हुन नसक्दा हाल ८०० किलोवाट विद्युत् उत्पादन हुने गरेको थियो । उक्त आयोजना बन्द भएपछि उत्तरी म्याग्दीको नारच्याङ, दाना, भुरुङ तातोपानीका साथै तल्लो मुस्ताङमा विद्युत् आपूर्ति भएको छैन ।

यसअघि विद्युत्भार कटौती नहुने मुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दा आयोजना बन्द भएपछि विद्युत्भार कटौतीको मारमा परेका छन् । रासस