काठमाडौँ, १५ चैत । एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष वेनचाई झाङले नेपाल सरकारले चाहेको खण्डमा भूकम्पपछिको पुनः निर्माणमा थप सहयोग उपलब्ध गराउन तयार रहेको बताउनुभएको छ ।
बैंकका तर्फबाट आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नेपालले आवश्यक ठानेको खण्डमा पुनःनिर्माणमा लागि करिब रु छ अर्ब थप सहयोग गर्न तयार रहेको बताउनुभयो ।
भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण र पीडितलाई राहत दिने विषयमा भइरहेको ढिलाइप्रति बैंकले असन्तुष्टि जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडा र उच्च सरकारी अधिकारीसँग भेट गरी उपाध्यक्ष झाङले भूकम्पपछिको पुनःनिर्माणको काम शीघ्र अगाडि बढाउन र बैंकको लगानी रहेका परियोजनामा गति प्रदान गर्न आग्रह गरेको बताउनुभयो ।
“प्रधानमन्त्री, मन्त्री र अरु पदाधिकारीसँगको छलफलपछि मलाई विश्वास छ, नेपालको समग्र विकास परियोजना, भूकम्पपछि पुनःनिर्माण प्रक्रियाले गति लिनेछ”–उपाध्यक्ष झाङले भन्नुभयो । मेलम्ची खानेपानी आयोजनाको काममा भइरहेको ढिलाइले काठमाडौँ उपत्यकामा खानेपानी उपलब्ध गराउने कार्यसमेत प्रभावित भएकाप्रति आफू जानकार रहेको भन्दै उपाध्यक्ष झाङले प्रभावकारी अनुगमन र क्षमता अभिवृद्धिका लागि मिलेर जानुको विकल्प नभएको बताउनुभयो ।
मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको प्रभावकारी कार्यान्वयनपछि दोस्रो चरणलाई पनि ऋण सहयोग उपलब्ध गराउन सकिने उल्लेख गर्दै उहाँले सडक, विद्यालय एवम् सरकारी कार्यालयको पुनःनिर्माणमा समेत तदारुकता जरुरी रहेको छ, भन्नुभयो ।
यस्तै बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाउन लागेको २५ मेगावाट सौर्य प्रणालीको बारेमा पनि निकट भविश्यमा नै आवश्यक निष्कर्षमा पुगिने उहाँको कथन थियो । यस्तै ३०० मेगावाट क्षमताको दूधकोसी र ४१० मेगावाटको नलसिंहगाड जलविद्युत् आयोजनामा पनि लगानी गर्न सकिने जानकारी गराइयो ।
उपाध्यक्ष झाङले मेलम्ची खानेपानी आयोजना, काभ्रेपलान्चोकको भूकम्पपीडित बस्तीको स्थलगत अध्ययन गर्नुभएको थियो । नेपालको आर्थिक विकास र समृद्धिका लागि बैंकका तर्फबाट जस्तोसुकै सहयोग उपलब्ध गराउन र आवश्यक निर्णय गर्नसमेत आफूहरु तयार रहेको उहाँको भनाइ थियो ।
उपाध्यक्ष झाङ ‘सन् २०३० नेपालको परिकल्पना’ विषयक अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन आउनुभएको हो । रासस
















प्रतिक्रिया