काठमाडौं, १४ चैत । पुष्प व्यवसायको व्यवसायिक प्रवद्र्धनका लागि निरन्तर रुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आएको फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत्र १८ गतेबाट १९ औं फ्लोरा एक्स्पो संचालन गर्न लागेको छ ।
काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा ४ दिन सम्म चल्ने यो एक्स्पोको मुल नारा “स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय” भन्ने रहेको छ । १९ औं फ्लोरा एक्स्पोको समुद्घाटन चैत १८ गते बिहीबार बिहान १०.३० बजे देखि स्टल अवलोकन पश्चात ११.००बजे कृषि विकास मन्त्री हरिबोल गजुरेल बाट भृकुटीमण्डप प्रदर्शनी हल, काठमाण्डौमा गरिने एशोसिएशनले जनाएको छ ।
काठमाडौंको अनामनगरस्थित कृषि उपभोक्ता डबलीमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनमा कृषि बिकास मन्त्रालयका उपसचिब डा. रुद्र बहादुर श्रेष्ठले पुष्प क्षेत्रमा भएको निर्यात भन्दा सातगुणा बढि भएको आयातलाई कम गर्न कृषि बिकास मन्त्रालय लागि परेको र यसका लागि सबै क्षेत्रको सहयोग आबस्यकता रहेको बताए ।
मेलामा जम्मा ६४ वटा स्टल मध्ये अफिसियल स्टलका लागि ६ वटा, प्रतियोगितात्मक प्रदर्शनीका लागि ३ वटा, ल्याण्डस्केपिङका लागि ४ वटा र व्यवसायीक स्टलका लागि ५१ वटा स्टल छुट्याईएको छ । मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहनेछन् । साथै मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बिच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने समेत कार्यक्रम रहेकोछ ।
प्रतियोगिता हुने १० विधाहरु निम्नानुसार छन् : १) उत्कृष्ट मौसमी फूल २) उत्कृष्ट आलंकारिक बिरुवा ३) उत्कृष्ट फूल्ने बिरुवा ४) उत्कृष्ट ल्याण्डस्केप ५) उत्कृष्ट पुष्प सजावट ६) उत्कृष्ट स्टल ७) उत्कृष्ट कट फ्लावर (रोज) ८) उत्कृष्ट कट फ्लावर (कार्नेशन) ९) उत्कृष्ट कट फ्लावर (जरबेरा) १०) उत्कृष्ट कट फ्लावर (ग्लाडुओलस) । साथै लामो समय देखि पुष्प व्यवसायको क्षेत्रमा संलग्न रहि व्यवसाय गरिरहेको एक जना पुष्प व्यवसायीलाई यस वर्ष २०४१ सालमा स्थापना भई निरन्तर कार्य गर्दै आएको ललितपुर जिल्ला गोदावरी स्थित एभरग्रीन नर्सरीलाई कदर–पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालका कार्यबाहक अध्यक्ष तथा मेला संयोजक दिलिप बादेले बताए ।
यो १९औं फ्लोरा एक्स्पो बाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास फ्यानले लिएको छ । साथै पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने छ । यो वास्तविकतालाई व्यवहारमा उतार्न गत वर्ष हामीले प्रविधी विस्तारका लागि भारत लगायत अन्य मुलुकबाट पनि पुष्प व्यवसायीहरुलाई सहभागी गराएका बताउँदै फ्यानका महासचिब मिन बहादुर तामाङले त्यसैका निरन्तरता स्वस्प यो वर्ष प्रविधीको विषयमा ५ वटा बिदेशी स्टलहरु राखिएको बताए ।
गत बर्षको फ्लोरा एक्स्पोमा ५० हजार अवलोकनकर्ता तथा ६० लाख भन्दा बढिको कारोबार भएको र यो मेला अवधिभरमा गत वर्षको तुलनामा १० देखि १५ प्रतिशतले अवलोकनकर्ता तथा कारोबारमा वृद्धि हुने अपेक्षा फ्यानले लिएको छ । यी प्रविधीहरु पुष्प क्षेत्रलाई मात्र नभएर सम्पूर्ण व्यवसायीक कृषिका लागि समेत अतिनै उपयोगी हुने भएकोले कृषिसँग सम्बन्धित व्यवसायी, अध्ययन अध्यापन गर्ने गराउने तथा अनुसन्धानमा संलग्न संघ संस्था एवं व्यक्तिहरुलाई मेलामा हार्दिक आमन्त्रण गरेको छ ।
नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय आ.ब. २०७०/७१ सम्म आई पुग्दा हाल ३८ जिल्लामा लगभग ६७५ पुष्प फर्म/नर्सरीहरु बिस्तार भईसकेको छ ।
लगभग १४१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१,००० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आ.ब. २०७१/७२ मा सिजनल फूल बिरुवा तर्फ रु २२.७६४ करोड, आलंकारिक बोट बिरुवातर्फ रु. ४०.०५७५ करोड, कट फ्लावर्स तर्फ रु २१.४७२५ करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्ग तर्फ रु १७.८९२ करोड, खुल्ला फूल तर्फ रु.७.०३५ करोड, सामग्री आपूर्ति तर्फ रु.१३.०२ करोड, अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदि) तर्फ रु ८.७४६५ करोड, र निर्यात तर्फ रु ३.१५ करोड गरि जम्मा १ अर्व ३४.१३७५ करोड भन्दा बढिको कारोबार भएको छ । आ.ब.२०७१/७२ मा १०.०० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएको समेत गरेको छ ।
















प्रतिक्रिया